धरान : धरानमा क्रियाशील रहेका राजनैतिक दलले दिएको ७२ घन्टे अल्टिमेटमलाई धरान खानेपानी बोर्डले बेवास्ता गरेको भन्दै १० राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा  गरेका छन् ।

मङ्लबार संयुक्त रूपमा सार्वजनिक विज्ञप्तिमा साउन १७ गते विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया गर्ने, १८ गते सबै वडा कार्यालयहरूमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना कार्यक्रम गर्ने चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

विज्ञप्तिमा धरान खानेपानी व्यवस्थापन बोर्डका स्वघोषित अध्यक्ष हर्कराज राईको एकल निर्णयले मनोमानी ढङ्गबाट भएको खानेपानी महसुल वृद्धि गरिएको विरुद्धमा धरानका जिम्मेवार १० राजनीतिक दलहरूले गत ११ गते खानेपानी बोर्डमा ७२ घण्टे अल्टिमेटम दिँदै पानीको महसुल पुरानै दरमा कायम गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए ।

राजनैतिक दलको पत्रलाई बेवास्ता गर्दै कानुन विपरीत धराने जनताको ढाड सेक्ने गरी गरिएको महसुल वृद्धि विरुद्धको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

खानेपानी महसुल वृद्धिलाई यथावत् (पुरानै) दरमा कायम गर्न गराउन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

विज्ञप्तिमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

Khanepani Mahasul Birudha Andolan Ghosana Bigyapti