धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले धरान खानेपानी व्यवस्थापन बोर्डले अवैधानिक रूपमा अत्यधिक वृद्धि गरेको पानीको महसुल फिर्ता लिन बोर्डका अध्यक्ष, नगर प्रमुख हर्क साम्पाङलाई आग्रह गरेको छ ।

सङ्घले सोमबार विज्ञप्तिमा भनिएको छ ‘शुल्क वृद्धिले उपभोक्ताहरूलाई विद्यमान आर्थिक मन्दीको समयमा खानेपानी महसुल वृद्धिले आर्थिक भार थुपार्ने काम गरेको छ ।’ वृद्धि भएको महसुल दर मान्य नहुने उल्लेख गर्दै सङ्घले अविलम्ब वृद्धि गरिएको महसुल दर फिर्ता लिई साविक महसुल दर नै कायम राख्न जोडदार माग गरेको हो ।

धरान खानेपानी व्यवस्थापन बोर्डको सञ्चालन प्रक्रिया ऐन नियम बमोजिम नभएको र हाल बोर्डको कार्यकारी समितिको बैठक लगायत सञ्चालन प्रक्रियाको विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘यस कारण अवैधानिक र एकल निर्णयबाट वृद्धि गरिएको शुल्क उपभोक्ताका लागि मान्य हुँदैन ।’

विज्ञप्तिमा खानेपानीको आपूर्ति पर्याप्त नभएका कारण उद्योग व्यवसाय सञ्चालन गर्न असहज भएको अवस्थामा महसुल वृद्धिले उद्योगी, व्यवसायी थप मारमा परेको उल्लेख छ ।

धरानका सङ्घ सङ्गठनहरू लगायत उपभोक्ताहरूले महसुल वृद्धि विरुद्धमा गर्ने विरोध तथा आन्दोलनमा  सङ्घको समेत ऐक्यबद्धता, समर्थन र सहयोग रहने जानकारी गराएको छ ।

बोर्ड ऐन २०६३ को दफा १० को उपदफा २ घ बमोजिम सुनसरी उद्योग वाणिज्य सङ्घ बोर्डको पदेन सदस्यको रूपमा स्थापना कालदेखी नै निरन्तर रहे पनि पनि गत २ वर्ष देखी बोर्डको बैठकमा नबोलाएको सङ्घले जनाएको छ ।

बोर्डमा खानेपानीको सन्दर्भमा कुनै छलफल नै नभएको अवस्थामा पत्र मार्फत सूचना प्रकाशित गरी  विभिन्न शीर्षकमा बढाइएको खानेपानी शुल्क उपभोक्ताहरूले थेग्नै नसक्ने गरी वृद्धि गरेको आपत्ति प्रकट गरिएको छ ।

sunsari-CCI