धरान : नेपाली कविताको दुई पुस्ताका कवियत्रीद्वय कुन्ता शर्मा र छविना लुङगेली मगरका कविता आज शनिवार बिहान पब्लिक हाई स्कुलको सेमिनार हलमा कबिताप्रेमीहरुले सुनेका छन् ।
'अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन'को उद्देश्य लिएको नेपाली लेखक सङ्घ सुनसरीले पहिलो पटक टिकटमा कविता आयोजना गर्दै दुई प्रतिनिधि पुस्ताको कविता श्रवण गर्ने अवसर जुटाएको हो ।
२०३० को दशकमा ‘सङ्कल्प’ साहित्यिक पत्रिका सञ्चालनसँगै प्रगतिशील साहित्यिक क्षेत्रमा पहिचान बनाएकी कुन्ता शर्मा २०४२ मा ‘पोथी बास्नु हुँदैन’ कविताबाट नेपाली कविताप्रेमीहरुको ‘आइडल’ बनिन् ।
युवा कवियत्री छविना लुङ्गेली मगर नेपालमा २०७९ मा सुरु भएको कवितामा आधारित पहिलो रियालिटी टेलिभिजन सो ‘द पो एट आइडल’को २०८० मा घोषित परिणाममा बाह्रौँ स्थान हासिल गरेकी नयाँ पुस्ताकी ‘पोएट आइडल’ हुन ।
वराहक्षेत्र नगरपालिकाको ग्रामीण क्षेत्र कालाबञ्जरमा रहेर कविता सिर्जनामा नेपालभरका युवा स्रष्टाहरूसँग प्रतिस्पर्धामा अगाडि आएकी कवियत्री हुन छविना लुङ्गेली मगर ।
नेपाली कवितामा कवियत्रीहरुको अग्रता न्यून देखिएका बेला दुई पुस्ताका महिला स्रष्टालाई एकै मञ्चमा उतार्ने कार्य पछिल्लो पुस्ताका लागि उत्प्रेरक बन्ने विश्वास गरिएको छ ।
कविता वाचन कार्यक्रममा दुवै स्रष्टाले ८/८ वटा कविता वाचन गरेका थिए । समीक्षक वराहक्षेत्रका उपप्राध्यापक रमेश काफ्लेले दुई पुस्ताका स्रष्टाका रचनामा देशको समकालीन अवस्थाप्रति असन्तुष्टि, परिवर्तनको चाहना प्रकट भएको बताए ।
कुन्ता शर्माका पछिल्ला कविताहरूमा लैङ्गिकताका सवालहरूलाई व्यंगात्मक विद्रोहको भाव प्रकट भएको बताउँदै काफ्ले भने ‘कुन्ता दिदीको कविताहरू त्यसै कारण पनि सबैका लागि सन्देशमूलक छन् ।
छविना लुङ्गेली मगरका कवितामा अहिलेको युवा पुस्तामा मुलुकको उत्साहविहीन अवस्थाबाट उत्पन्न असन्तुष्टि, विद्रोहका अभिव्यक्ति पाइने उनले बताए ।
गाउँको जीवन अतिक्रमित हुँदै गएको अवस्थाका चित्रण र त्यसबाट ह्रासोन्मुख मानवीय मूल्यप्रति छविना मगर लुङ्गेलीका कवितामा चिन्ता पाइने समीक्षक काफ्लेको भनाई थियो ।
कार्यक्रमका बिच धरान उपमहानगरपालिका पूर्व नगर प्रमुख तीलक राईले टिकटमा कविता वाचन कार्यक्रम आयोजना गरेर नेपाली लेखक सङ्घले धरानको साहित्यिक गतिविधिमा नयाँ तरङ्ग ल्याएको बताए ।
धरानको साहित्यिक गतिविधि पहिलेका भन्दा सुस्ताएको अनुभव सुनाउँदै उनले भने ‘बदलिएको समय अनुसार कविता साहित्यलाई व्यवसायीक बनाउने उपायहरूको खोजी गर्न जरुरी छ, त्यसले नयाँ पुस्तामा आकर्षण बढाउँछ ।’
उनले टिकटमा कविता वाचन कार्यक्रम आयोजना गरेर श्रष्टाव्दयलाई नगद परिश्रमिक प्रदान गर्ने अभ्यासको सुरुआत उदाहरणीय भएको बताउँदै यस्तो अभ्यास आउँदा दिनमा अन्य साहित्यिक कार्यक्रमहरूमा पनि गरिनु पर्नेमा जोड दिए । नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले शुभकामना प्रकट गरे ।
सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्ले धरानमा नयाँ पुस्ताका कवि, साहित्यकारहरूको गतिविधि बढ्दै गएको बताए । साथै नयाँ पुस्ता र पुराना पुस्ताका भ्रष्टका बिच संवादको दुरी पनि बढेकाले गतिविधिमा न्यूनता देखिएको बताए ।
सङ्घका सुनसरी जिल्ला अध्यक्ष हर्ष सुब्बाले नेपाली लेखक सङ्घ २००८ सालमा नेपालमा अभिव्यक्ति स्वतन्त्रता, लेखन र प्रकाशन स्वतन्त्रताको पक्षमा स्थापना भएको पहिलो संस्था भएको बताउँदै लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ गोविन्द बहादुर मल्ल गोठाले लगायत नेपाल साहित्यका ऐतिहासिक पुरुषहरू यसको संस्थापक भएको जानकारी दिए ।
उनले लेखक, रचनाकार, साहित्यकारहरूको हक हितको लागि स्थापना भएकोले सङ्घले उनीहरूको व्यवसायीक पक्षमा पनि आवाज उठाउन अभ्यासको रूपमा टिकटमा कविता वाचन कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमको उद्घाटन प्रयोगात्मक रूपमा गरिएको थियो । युवा कवि हिक्मत खडकाले छोटो कविता वाचन गरेर श्रष्टाद्वयको कविता वाचन सुरु गरिएको थियो । कार्यक्रममा संयोजन र सञ्चालन सङ्घका सुनसरी जिल्ला सचिव विजय घिमिरेले गरेका थिए ।
कार्यक्रम समापनमा टिकट विक्रीबाट सङ्कलित रकमबाट कवियत्रीद्वयलाई परिश्रमिक स्वरूप २५/२५ सय रुपैयाँ प्रदान गरिएको थियो ।
kabita-bachan 1chabina-magarkunta-sharma