धरान : उभौली पर्वमा लिम्बु जाति परम्परागत रूपमा अन्नबाली छर्न प्रकृति पूजा यक्वा तङनाम मनाउने तयारीमा लागेका छन् । उभौली पर्व पर्सी शुक्रवार वैशाखै पूर्णिमाको दिन मनाइँदै छ ।
किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिको आज बुधवार बसेको बैठकले यसापली धरानमा यक्वा तङनाम विविध तिन कार्यक्रम सहित मनाउने निर्णय गरेको अध्यक्ष तीर्थ मादेम्बाले बताए ।
यक्वा पूजाको बिहान धरान १४ विजयपुर स्थित किराँत दरबार क्षेत्रको बनमा येबा, सम्बाहरुबाट पूजा अर्चना गरिने छ ।
लिम्बु जातिको पहिचानजन्य सांस्कृतिक नृत्य केलाङ सहित याक्थुङहाङ लुङमा पूजा अर्चना सम्पन्न गरिने मादेम्बाले बताए ।
दिउँसो धरान-१५ चु्म्लुङ हिममा यक्वा पूजा सहित केलाङ र धाननाच हुनेछ । पूजाको प्रसादको रूपमा लिम्बु जातिको मौलिक परिकार चामाथुङमा खानपिनको कार्यक्रम पनि आयोजना गरिएको छ ।
अपराह्न धरान-१६ मा धरान उपमहानगरपालिकाद्वारा निर्मित बहुभाषिक पाठशाला भवन परिसरमा लिम्बु जातिको मृत्यु छेक्ने चिन्ह फलामबाट बनेको सिलाम साक्मा अनावरण गरिने कार्यक्रम छ ।
अध्यक्ष मादेम्बाका अनुसार पाठशालामा चुम्लुङको वडा समितिको सहकार्यमा मातृभाषा कक्ष सञ्चालन गर्ने तयारी भइरहेको छ ।


































































