धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा विज्ञान तथा प्रविधि विषयक प्रादेशिक सम्मेलन आयोजना हुने भएको छ । 
वैशाख १८ र १९ गते सञ्चालन हुने सम्मेलनमा हाल देशव्यापी समस्याको रूपमा देखिएको बाँदर व्यवस्थापन, स्वास्थ्यकर मासु, भूमिगत पानी लगायत दर्जन बढी शोधपत्रमा छलफल हुने भएको छ ।
सम्मेलनका संयोजक सहायक क्याम्पस प्रमुख बन्टी श्रेष्ठले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन ।  सम्मेलनमा विज्ञान,स्वास्थ्य, वातावरण, खाद्य प्रविधि, जलस्रोत तथा भू–गर्भ विज्ञान लगायतका विषयमा दर्जनौँ अनुसन्धान पत्र प्रस्तुत हुने बताइएको छ । 
सम्मेलन आयोजक समिति सदस्य उपप्राध्यापक  धिरेन लिम्बुका अनुसार पहिलो दिन वैशाख १८ गते उद्घाटन सत्रपछि खाद्य विज्ञान, पोषण, कृषि तथा जैविक प्रविधिसम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछ । कोशी प्रदेशका विभिन्न क्षेत्रका स्थानीय समस्या केन्द्रित छलफल पछि निष्कर्ष निकालिने छ ।
दोस्रो दिन वैशाख १९ गते स्वास्थ्य विज्ञान, वातावरण,जलस्रोत,जीवविज्ञान र भू–विज्ञानसम्बन्धी अनुसन्धान प्रस्तुत हुने तालिका रहेको छ। पानीको गुणस्तर परीक्षण,सूक्ष्म जीव अध्ययन,जैविक विविधता तथा भूगर्भीय अवस्थासम्बन्धी अनुसन्धान पनि यसदिन प्रस्तुत गरिनेछ ।
अन्तिम सत्रमा अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम समापन गरिने बताइएको छ । सम्मेलनले अनुसन्धानकर्ता, वैज्ञानिक तथा विद्यार्थीहरूबिच ज्ञान आदान–प्रदान र नयाँ खोजका लागि साझा मञ्च प्रदान गर्नेछ । सम्मेलनमा क्याम्पसका विद्यार्थीहरूले पनि अनुसन्धान पत्रहरू प्रस्तुत गर्नेछन् ।