धरान : नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को संस्थापक सदस्य समूहअन्तर्गत धरानका गोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनीसँगै सुमन श्रेष्ठ पनि सोही समूहबाट निर्वाचित भएका हुन्।

हिजाे सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार दुवै उम्मेदवारले समान १०/१० मत प्राप्त गर्दै विजयी भएका हुन्। यस समूहमा दुई सदस्य निर्वाचित हुने प्रावधान रहेको थियो। उक्त प्रतिस्पर्धामा झापाका टीकाराम ढकालले पनि उम्मेदवारी दिएका थिए, तर उनी पराजित भए।

निर्वाचित गोपाल श्रेष्ठ हाल सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत हुन्। उनको नेतृत्वमा सङ्घले पहिलो पटक महासङ्घको संस्थापक सदस्य समूहबाट केन्द्रीय तहमा प्रतिनिधित्व पाउन सफल भएको छ, जसलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

यसअघि २०८२ असार ३० गते सम्पन्न सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा गोपाल श्रेष्ठले प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका थिए।