धरान : युके स्थित भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले कथाकार सरणकुमार राईलाई भोजपुर प्रतिभा सम्मान प्रदान गरेको छ । लोक गायक तेजेन्द्र गन्धर्वलाई पुरस्कार प्रदान गरेको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयमा शुक्रवार आयोजित कार्यक्रममा कथाकार राईलाई नगद १५ हजार रुपैयाँ नगद ताम्रपत्र दोसल्ला सहित प्रतिभा सम्मानित गरिएको हो । सोही अवसरमा लोक गायक तेजेन्द्र गन्धर्वलाई नगद ३५ हजार रुपैयाँ ताम्रपत्र र दोसल्ला सहितको पुरस्कार प्रदान गरियो ।
पूर्वका लेखक, कवि साहित्यकारहरू माझ साहित्यकार बम देवान र प्रतिष्ठानका अध्यक्ष काङ्माङ नरेशले स्रष्टाद्वयलाई सम्मान पत्र प्रदान गरेका हुन । शरणकुमार राईको आधा दर्जन कथा, लघुकथा सङ्ग्रह प्रकाशित छ । सारंगीवादक गन्धर्वका ३ दर्जन लोक भाकाका गीतहरू रेकर्डिङ भएका छन् ।
प्रतिष्ठानले यस अघि साहित्यकारहरू पूर्ण प्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जीवी लुगुन,शैलेन्द्र साकार, मन्जुल, गायक तथा सङ्गीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणी नेपाल र श्याम तमोट, हिरण्य भोजपुरेलाई सम्मान गरी सकेको छ ।
कवि श्रवण मुकारुङ, सङ्गीतकार दिनेश बान्तवा, विप्लव ढकाल, विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भीषण मुकारुङ, लेखक कविता राई र करुणालाई प्रतिभा पुरस्कार प्रदान गरी सकेको छ ।








































































