धरान : प्रहरीले धरान-८ साम्पाङ चौकबाट सोमवार लागुऔषधको ट्याब्लेट, क्याप्सुल सहित २ जनालाई पक्राउ गरेको छ ।
हरिनगर-६ का २१ वर्षीय अंजक अन्सारी र हरिनगरा-७ का १८ वर्षीय अब्दुल वाहिद अन्सारीलाई अस्थायी प्रहरी चौकी बरगाछीको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट ट्रामाडोल २००० क्याप्सुल र डिकोलिक २००० ट्याब्लेट बरामद भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार सोमवारै इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड–५ शनिश्चरे रोड पाथीभरा टोलबाट बिर्तामोड–१ का १९ वर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, आस्पाम ४ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
सोमवार राती ९ बजे बिर्तामोड–५ इन्द्रेणी टोलबाट ३५ वर्षीय हरसिंह राजवंशी, २१ वर्षीय राजु राजवंशी, बिर्तामोड–६ का ४४ वर्षीय सन्तोष कुमार पराजुली र बिर्तामोड–९ का २२ वर्षीय प्रशान्त खड्कालाई ब्राउन सुगर १९० मिलिग्राम सहित पक्राउ गरेको छ ।
सोमवार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले झापाको मेचीनगर–६ पुरानो मेचीपुलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र. १-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारी चालक र भानुटोलका ३८ वर्षीय जीवन घिमिरेलाई ब्राउनसुगर ११ ग्राम २०० मिलिग्राम सहित पक्राउ गरेको छ ।
सोमवार राती ८ बजे इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक–६ बसपार्कबाट दमक–१ का २७ बर्षीया विमला दाहाललाई ब्राउन सुगर ६ ग्राम ८४० मिलिग्राम सहित पक्राउ गरेको छ ।







































































