धरान : साहित्यकार एवं धरानका पुराना अभियन्ता स्वार्गिय जगदीश नेपालीको स्मृति दिवसको अवसरमा बिहीबार धरान वडा १४ एकै वडा विजयपुरमा जन्मेर हुर्किएका १७ जना विद्यावारिधि गरेका अगुवाहरूलाई ‘विद्वत सम्मानपत्र’द्वारा सम्मानित गरिएको छ ।
सम्मानितहरूमा प्राडा. माधवप्रसाद पोख्रेल, प्राडा. टङ्क प्रसाद न्यौपाने, प्राडा.भरतप्रसाद भट्टराई, प्राडा.चन्द्रमणि नेपाल, डा. राजेन्द्र शर्मा पोख्रेल, डा.चन्द्र न्यौपाने, डा.भूषण काफ्ले छन् ।
साथै प्राडा. वसुधा खनाल, डा. शैलजा पोख्रेल, डा.अपर्णा पोख्रेल, प्राडा. ईश्वर पोख्रेल, प्राडा. सागरमणि सुवेदी, प्राडा. मदन कोइराला, डा. अमित खनाल, डा.पङ्कज खतिवडा, डा. केवल श्रेष्ठ सम्मानित भएका हुन ।
सम्मान कार्यक्रम जगदीश नेपालीका छोरा सुरेश नेपाली संरक्षक रहेको जगदीश चित्रा समाज कल्याण प्रतिष्ठानले आयोजना गरेको हो । सम्मानितहरूलाई संस्कृतका विद्वान पुरुषोत्तम भट्टराईद्वारा दोशल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको थियो ।
भाषाशास्त्री महानन्द सापकोटका अनुसार स्वर्गीय जगदीश नेपाली साहित्यका प्रसिद्ध लघु कथाकार थिए । उनलाई समीक्षकहरूले नेपाली खलिल जिब्रानको उपमा पनि दिएका छन् ।
धरानको भानुचौक तथा भानुभक्तको शालिकको स्थापना जगदीश नेपाली कोशी अञ्चल मोटर सिण्डिकेटको सभापति हुँदा उनको पहलमा भएको थियो ।
२०३० को दशकमा साहित्यकार, मजदुर नेता, यातायात व्यवसायी सामाजिक अभियन्ताका रूपमा क्रियाशील जगदीश नेपालीले धरानको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
उनको स्मृति दिवसमा सम्मानित प्राडा.माधवप्रसाद पोखरेलले जगदीश नेपालीको परिवारका साहित्य तथा सामाजिक क्षेत्रमा योगदानको इतिहास बनाएका व्यक्तित्वहरूका रूपमा परिचित रहेको बताए । प्राडा.गोपालप्रसाद भण्डारीले जगदीश नेपालीको जीवनका बारेमा प्रकाश परेका थिए ।
साहित्यकार महेश प्रसाईँले सञ्चालन गरेको सम्मान कार्यक्रममा कवि भीष्म काफ्ले, वरिष्ठ पत्रकार हर्ष सुब्बाले जगदीश नेपालीसँगको पुराना स्मृति संस्मरण गरेका थिए । समारोहको सभापतित्व प्रतिष्ठानका संरक्षक सुरेश नेपालीले गरेका थिए ।










































































