धरान : धरान–१२ स्थित पब्लिक हाईस्कुलमा सञ्चालित प्लस टु होटेल म्यानेजमेन्ट फ्याकल्टीको ल्याब यसै महिना पब्लिक रेष्ट्रोको रूपमा खुला गरिदैंछ ।
स्कुलको मुख्य भवन पछाडि निर्मित नयाँ भवनमा अत्याधुनिक बारिस्टा ल्याब, कुकिङ ल्याब सहितको आकर्षक रेस्टुरेन्ट, बारिष्टा क्याफे विद्यार्थीका लागि प्रयोगात्मक ल्याबको रूपमा खुला गरिने भएको हो ।
नयाँ शैक्षिक सत्रबारे जानकारी दिन आज शुक्रवार बिहान मिडियाकर्मीसँगको भेटमा प्रधानाध्यापक डा.इन्द्र मोहन झाँले भने ‘होटेल मेनेजमेन्टको रेष्टुरा खुला गरिएपछि विद्यार्थी स्टाफहरूका लागि यहाँ ६० रुपैयाँमा भेजखानाको सुविधा हुनेछ ।’
स्कुलको बिहानको सेशन २ बजे सम्म चलेको अवस्थामा खाना खान घर जानु नभ्याउने विद्यार्थीहरूको सुविधाका लागि उक्त व्यवस्था गरिएको उनले बताए । धरान बाहिरबाट आएर आफै पकाएर खानुपर्ने विद्यार्थीलाई पनि यसबाट सुविधा पुग्ने उनको भनाई थियो । विषयगत विद्यार्थीलाई प्रयोगात्मक अभ्यास स्कुल परिसर भित्र उपलब्ध गराउन ल्याबलाई पब्लिक रेष्ट्रोको रूपमा सञ्चालन गर्न लागेको उनको भनाई छ ।
स्कुलमा हाल होटेल म्यानेजमेन्टका १५५ जना विद्यार्थी छन् । ११ मा २ सेक्सन र १२ मा समेत उक्त सङ्ख्यामा होटेल म्यानेजमेन्ट विषयका विद्यार्थीलाई ल्याब र पब्लिक रेष्ट्रो सञ्चालनमा आएपछि प्रयोगात्मक अध्ययन सहज हुने बताइएको छ ।
हेडमास्टर डा.झाँका अनुसार पब्लिकमा होटेल म्यानेजमेन्टको प्रयोगात्मक कोर्स समेतका लागि विद्यार्थीहरूले २३ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
उनले विद्यालय पूर्ण रूपमा सरकारी नभई सामुदायिक सहयोगमा सञ्चालन भएकाले न्यूनतम शुल्क निर्धारण गर्नु परेको बताए ।
उनका अनुसार स्कुलको शैक्षिक गुणस्तर उठाउन विद्यार्थीलाई प्राविधिक तथा व्यवहारिक शिक्षा प्रदान गर्न बुस्टर, बुस्टअप तथा आइसियु कक्षा सञ्चालन गरिएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरू थप जिम्मेवार बनाउन उनीहरूको कार्यसम्पादनको नियमित अनुगमन डिजिटल प्रविधि अपनाइएकोले कसैले कसैलाई ढाँट्न, झुक्याउने अवस्था नरहेको प्रधानाध्यापक झाँको भनाई छ ।
विद्यालयको आम्दानी तथा खर्च विवरण पारदर्शी बनाउन र अभिभावकलाई नियमित जानकारी र सुझाव लिनदिने कार्य भइरहेको उनले बताए । प्रधानाध्यापक झाले भने ‘नर्सरी कक्षाको भर्ना शुल्क ४ हजार महँगो लागे पनि दैनिक खर्चसँग तुलना गर्दा दैनिक १० रुपैयाँ मात्र हुन्छ, यसलाई अभिभावकहरूले स्वाभाविक रूपमा मान्ने गरेका छन् ।’
विद्यालय व्यवस्थापन समितिको वैधानिकताबारे गरिएको प्रश्नमा उनले धरान नगर शिक्षा ऐन २०७८ र सङ्घीय शिक्षा ऐनबिचको भिन्नताले अन्योल सिर्जना भएको बताए । नयाँ अध्यादेश आएपछि पुराना समितिहरू स्वतः विघटन हुने भनिए पनि आधिकारिक पत्र प्राप्त नभएको र पुराना पदाधिकारीले आफै पद छोडने उनले बताए ।
भौतिक पूर्वाधारतर्फ विद्यालयको एउटा पुरानो भवनको छतबाट पानी चुहिने समस्या रहेको र त्यसको मर्मतका लागि प्राविधिक टोलीले अध्ययन गरिरहेको उनले बताए । विद्यार्थी सङ्ख्या धेरै भएकाले शौचालय सरसफाइमा चुनौती रहेको उल्लेख गर्दै विद्यालय प्रशासनले सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।
विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउन फिल्टर प्रणाली जडीत २५ हजार लिटरको पानी ट्याङकी उपलब्ध रहेको प्रधानाध्यापक झाँले बताएका छन् ।