धरान  : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचनागत सुधारमा योगदान पुर्‍याउने धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले बताएका छन् ।
प्रतिष्ठानमा आज मङ्गलवार बिहान आयोजित २०६ औँ विश्व नर्सिङ दिवस कार्यक्रममा सहभागी डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीहरू बिच प्रमुख अतिथि बेघाले उक्त जानकारी दिएका हुन । 
उनले अस्पतालमा डाक्टरको भूमिका महत्त्वपूर्ण भए पनि बिरामीको २४ सै घण्टा हेरचाह गर्ने भएकाले नर्सहरूको भूमिका अझ विशेष हुने बताए ।
कार्यवाहक प्रमुख बेघाले प्रतिष्ठान र उपमहानगरपालिका बिचको सम्बन्ध ‘नङ र मासु’ जस्तै हुनुपर्ने बताउँदै प्रतिष्ठानको पूर्वाधार विकास र सुधारका लागि नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन १२ मेलाई संसारभर विश्व नर्स दिवसका रूपमा मनाउने गरिन्छ । २०६औँ अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  
नियमित रूपमा विश्व नर्सिङ दिवस मनाउँदै आएको प्रतिष्ठानमा २० वर्षदेखि निरन्तर कार्यरत ९ जना नर्सहरूलाई सम्मान गरिएको छ । पूर्व मेट्रोन तथा कलेज अफ नर्सिङमा कार्यरत रहिसकेका पदाधिकारीहरूलाई पनि सम्मान भएका छन् । 
उनीहरूलाई प्रतिष्ठानका निमित्त प्रमुख डा. इन्द्र लिम्बु तथा अईन्द्र विक्रम बेघाले सम्मान गरे । नर्सिङ डेकै अवसरमा निमित्त प्रमुख लिम्बुलाई समेत हार्दिक बधाई तथा सम्मान व्यक्त गरियो । कार्यक्रम नर्सिङ अध्यक्ष प्रतिष्ठानकी मेट्रोन कला थापाको सभापतित्वमा भएको थियो।
अध्यक्ष थापाले प्रतिष्ठानमा ८ सय ६४ जना नर्सहरू कार्यरत रहेको जानकारी दिँदै नर्सहरू नै प्रतिष्ठान सम्हाल्ने दह्रो हाँगा भएको बताइन्। उनले नर्स र प्रतिष्ठानबिच ‘नङ र मासु’को सम्बन्ध कायम राख्न सुरक्षित र निर्धक्क भएर काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन ।
nursing-day-1