धरान : अखिल नेपाल सुकुम्वासी सङ्घका कोसी प्रदेश अध्यक्ष सुदर्शन श्रेष्ठले बालेन सरकारद्वारा सुकुम्वासी बस्तीमाथि भइरहेको डोजर आतङ्क विरुद्ध कडा चेतावनी दिँदै डोजर आतङ्क तत्काल बन्द नगरिए मेचीदेखि महाकालीसम्म देशव्यापी आमहड्ताल सम्मको सशक्त आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।
धरानमा आज साँझ सुकुम्वासी द्वारा प्रदर्शन गरिएको राँके जुलुस पछि भानुचौकमा आयोजित कोणसभामा श्रेष्ठले सरकारले सुकुम्वासीलाई नागरिकसरह व्यवहार नगरेको आरोप लगाउँदै भने ‘यसरी नै डोजर आतङ्क चलाउँदै गए मेचीदेखि महाकालीसम्म देशव्यापी आमहड्ताल आव्हान गरिने छ ।’
उनले अदालतको आदेशपछि पनि बस्ती हटाउने दुष्प्रयास जारी रहेको बताउँदै यो विषय सर्वोच्च अदालतदेखि अन्तर्राष्ट्रिय मानवअधिकार निकाय सम्म लैजाने बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग उनले भने ‘खोलामा रहरले बसेका होइनौँ, नेपालमा राख्न नसक्ने भए मङ्गल ग्रहमा पठाइदेऊ, नत्र तिम्रा बाउले जनतालाई लुटेको कमाएको ११० बिघा जग्गामा सुकुम्वासीलाई राख ।’
संविधान विपरीत राज्यले “डोजर आतङ्क” सिर्जना गरे भने दोस्रो चरणको आन्दोलन थप सशक्त बनाइने उनको भनाई छ । सर्वोच्च अदालतको आदेशपछि पनि कोल्हापुर को शान्ति बस्तीमा पुनः डोजर चलाइएको उनले बताए ।
प्रहरी र सेनालाई संयतता अपनाउन आग्रह गर्दै उनले भने ‘तपाईँहरूका बालबालिका पनि यस्तै बस्तीमा हुन सक्छन् ।’ सुकुम्वासीको पहिचान गरी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीसँगै बसेकै स्थानको लालपुर्जा उपलब्ध गराउनुपर्ने श्रेष्ठले बताए ।
देश विकासमा सुकुम्वासीहरूको ठुलो योगदान रहेको दाबी गर्दै उनले खोला किनार, ऐलानी वा सरकारी जग्गाबाट निरन्तर हटाउन खोजिएको उनले बताए । श्रेष्ठले भने “जहाँ बसेका छौँ, त्यहीँ लालपुर्जा देऊ, होइन भने उचित व्यवस्थापन गर ।”
त्यस्तै नेपाल बसोबास बस्ती संरक्षण समाज सुनसरी अध्यक्ष थामसेर लिम्बुले १८२ सिटको बहुमतको दम्भ नदेखाउन चेतावनी दिँदै “जनताले चाहे २४ घण्टामै सरकार ढल्न सक्छ” बताए ।
उनले विकास निर्माण, बाटो खन्ने र पहिरो पन्छाउने काममा प्रयोग हुनुपर्ने डोजर जनताको घर भत्काउन प्रयोग गरिएको भन्दै आपत्ति जनाए । लिम्बुले भने ‘बालेन शाहले भारतीय नेता योगी आदित्यनाथ बाट “डोजर संस्कृति” सिकेर नेपालमा दादागिरी देखाएको हो ।’
कोणसभामा आन्दोलनकारीहरूले “बालेन सरकार मुर्दावाद” तथा “सुकुम्वासी बस्तीमा डोजर चलाउन पाइँदैन” जस्ता नाराबाजी समेत गरेका थिए ।









































































