काठमाडौँ : उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश अध्ययनका लागि पठाइदिने भन्दै ठगी गर्ने शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध व्यापक कारबाही सुरु गरेको छ।
कार्यालयको टोलीले शुक्रवार काठमाडौँ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श संस्थामा अनुगमन तथा छापा मारेर ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार ती कन्सल्टेन्सीहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ ले तोकेका मापदण्ड र प्रक्रिया पूरा नगरी सञ्चालन हुँदै आएका थिए।
प्रारम्भिक अनुसन्धानमा केही संस्थाले दर्ता नवीकरण नगरी सेवा सञ्चालन गरेको, बिना इजाजत शैक्षिक परामर्श दिएको, भाषा शिक्षण तथा पूर्व तयारी कक्षा सञ्चालन गरेको तथा विदेश पठाइदिने बहानामा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
कार्यालयका रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामाथि स्क्रिनिङ गरी थप अनुसन्धान अगाडि बढाइनेछ। शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशङ्कामा अनुसन्धान केन्द्रित गरिएको उनले बताए।
यसैबिच प्रहरीले विदेश अध्ययनका नाममा ठगीमा परेका अन्य नागरिकलाई समेत सम्पर्कमा आउन आग्रह गरेको छ। पीडितबाट थप उजुरी सङ्कलन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।









































































