धरान : धरान खानेपानी बोर्डले करोडौँ रुपैयाँ महशुल बाँकी उठाउन जरिवाना छुट योजनामा ४ हजार १७१ ग्राहकले १ करोड ७५ लाख रुपैयाँ असुल भएको जनाएको छ । 
बोर्डका अध्यक्ष तथा उपमहानगरपालिका कावा प्रमुख अइन्द्रविक्रम बेघाले अब पनि महशुल नबुझाउनेहरूको धारा काटिने चेतावनी दिए, तर एकै ग्राहकले ३ लाख रुपैयाँ भन्दा बढी बाँकी रकम नबुझाउनेहरूको नाम भने अझै सार्वजनिक गरेनन् ।
बोर्डको आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बेघाले महसुल नबुझाएका ७ हजार ९४ ग्राहक मध्ये वैशाख मसान्तसम्म रकम बुझाउने ४ हजार १७१ ग्राहकले जरिवाना छुट सुविधा लिएको बताए । उनीहरूबाट बोर्डले १ करोड ७५ लाख २६ हजार ४९२ रुपैयाँ १ पैसा प्राप्त गरेको हो । 
हालसम्म पनि २ हजार ९२३ ग्राहकले महसुल बुझाउन बाँकी रहेको र उनीहरूबाट २ करोड ३ लाख ३८ हजार ८११ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको पत्रकार सम्मेलनमा जनाकारी गराइयो ।
लामो समय देखी महशुल रकम नतिर्ने ग्राहक संस्था, कम्पनी, कार्यालयको नाम खानेपानी बोर्डले सार्वजनिक गरेको छैन । यस अघि बोर्डले त्यसरी महशुल नतिर्ने ग्राहकले ३ लाख रुपैयाँ सम्म बाँकी राखेको राखेको जानकारी दिएको थियो । 
त्यसरी ठुलो रकम महशुल नतिर्ने व्यक्ति, संस्था, कम्पनीको नाम समाचार बनाउन कपुरी न्युजले माग गर्दा बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले महशुल नतिर्नेहरूको नाम ‘सार्वजनिक गर्न नमिल्ने’ भन्दै नाम खुलाउन इन्कार गरेका थिए । 
आज खानेपानीको मासिक हिसाब सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष बेघा समेतले महशुल नतिर्नेहरूको गोप्य नामावली सार्वजनिक गरेनन् ।  
आज सार्वजनिक गरिएको हिसाब अनुसार लामो समयदेखिको बक्यौता तिर्ने २४४ ग्राहकबाट ९९ लाख ६४ हजार ७२५ रुपैयाँ ७ पैसा सङ्कलन भएको छ । ३५ हजारदेखि ५ हजार रुपैयाँसम्म बुझाउने १६० ग्राहकबाट १६ लाख ८९ हजार ६३३ रुपैयाँ ६ पैसा उठेको छ । 
५ हजारदेखि १५० रुपैयाँसम्म बुझाउने ३ हजार ७६७ ग्राहकबाट ५८ लाख ७१ हजार १३२ रुपैयाँ ८ पैसा सङ्कलन भएको बोर्डले जनाएको छ ।
बक्यौता विवरण अनुसार ३ महिनादेखि ५ महिनासम्म महसुल नतिर्ने १ हजार २०१ ग्राहकबाट १८ लाख २५ हजार ४३५ रुपैयाँ उठ्न बाँकी छ । ६ महिनादेखि ११ महिनासम्म महसुल नतिर्ने ५९८ घरधुरीबाट २४ लाख ७९ हजार ५७० रुपैयाँ, १२ महिनादेखि २२ महिनासम्म महसुल नतिर्ने ३८६ घरधुरीबाट ४० लाख ८१ हजार ६२३ रुपैयाँ रहेको छ । 
यस्तै २३ महिनादेखि २९ महिनासम्म तिर्न बाँकी १८६ घरधुरीबाट २८ लाख ३९ हजार ३०४ रुपैयाँ तथा ३० महिनादेखि ३४ महिनासम्म महसुल नतिर्ने ५५२ घरधुरीबाट ९१ लाख १२ हजार ८७९ रुपैयाँ उठ्न बाँकी रहेको छ ।
धरानमा हाल कुल २८ हजार खानेपानी ग्राहक रहेको बोर्डले जनाएको छ । तीमध्ये २२ हजार ४५० ग्राहक नियमित महसुल तिर्ने रहेको र ५ हजार ५५० ग्राहकले लामो समयदेखि महसुल नबुझाएको जानकारी दिइएको छ ।
बोर्डका अनुसार ३० जना व्यक्तिगत तथा सङ्घ–संस्थागत ग्राहकले प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म बक्यौता पुर्‍याएका थिए । ती ३० ग्राहकबाट मात्रै ३१ लाख ६१ हजार ६२२ रुपैयाँ २३ पैसा उठ्न बाँकी रहेको थियो । 
कुल बक्यौता रकम ३ करोड ९८ लाख १० हजार ५७२ रुपैयाँ २३ पैसा पुगेको थियो । त्यसमध्ये ५ हजार ५२० व्यक्तिगत ग्राहकबाट मात्रै ३ करोड ६६ लाख ४८ हजार ९५० रुपैयाँ उठ्न बाँकी रहेको थियो ।
बोर्ड अध्यक्ष बेघाले महसुल नतिर्ने ग्राहकको धारा काटिने चेतावनी दिँदै भने, “महसुल नतिर्ने ग्राहकको घरको धारा काटिनेछ, बक्यौता नतिर्ने घरधुरीमा कर्मचारी खटाइने छ ।” बोर्डले २०८२ चैत २२ गते सूचना प्रकाशित गर्दै वैशाख मसान्तसम्म पुरानो बक्यौता बुझाउने ग्राहकलाई सम्पूर्ण जरिवाना छुट दिने निर्णय गरेको थियो । 
हाल खानेपानी बोर्डको मौज्दात रकम ३ करोड २६ लाख ५४ हजार २१५ रुपैयाँ ४६ पैसा रहेको छ । वैशाख महिनामा मात्रै १ करोड २१ लाख ५ हजार २२४ रुपैयाँ ३८ पैसा खर्च भएको अध्यक्ष बेघाले बताए ।
खानेपानी आपूर्तिको अवस्था :
बोर्ड अध्यक्ष बेघाका अनुसार हाल धरानमा दैनिक २ करोड ६३ लाख ३० हजार लिटर पानी उत्पादन तथा वितरण भइरहेको छ । उदयवनबाट १७ लाख, चार कोसे क्षेत्रबाट १ करोड ४० लाख, प्रदेश सरकारद्वारा निर्मित दुई वटा वेलबाट २५ लाख, सर्दु खर्दु पुरानो प्रणालीबाट ६३ लाख, निसाने खोलाबाट २ लाख लिटर पानी सङ्कलन भइरहेको छ ।
यस्तै कोकाह खोलाबाट २० लाख, नयाँ ट्याङ्की रिचार्ज पोखरीबाट २ लाख ५० हजार, भालु खोलाबाट १ लाख ३० हजार, पकुवाबाट १ लाख तथा कोकाह उपभोक्तासँगको सम्झौताबाट १ लाख ५० हजार लिटर पानी उत्पादन भइरहेको बोर्डले जनाएको छ ।
बोर्ड अध्यक्ष बेघाले आफूले जिम्मेवारी सम्हाले पछि खानेपानी उत्पादनमा प्रतिदिन ५१ लाख ८० हजार लिटर वृद्धि भएको दाबी गरे । उनका अनुसार कोशी प्रदेश सरकारको लगानीमा निर्माण भएका वेलमार्फत २४ घण्टामा ५१ लाख ८० हजार लिटर पानी उत्पादन भइरहेको छ । उक्त प्रणाली आफू बोर्ड अध्यक्ष भएपछि २०८२ माघ २२ गतेदेखि सञ्चालन गरिएको उनले बताए ।