ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “धरानकी बालिका भारतमा घरेलु श्रमिक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान १५ की ७ वर्षीय बालिकालाई पालन–पोषण गर्ने नाममा भारतको दार्जिलिङमा घरेलु कामदारको रुपमा प्रयोग गरेको पाइएपछि उद्धार गरिएको छ । दुई वर्षअघि नै उद्धार गरिए पनि बालिकाको ठाउँ, ठेगाना स्प्ष्ट नहुँदा उद्धारमा संलग्न संस्था बालसुरक्षा अभियान कालिम्पोङलाई समस्या परेको थियो ।
घरेलु कामदार लगाउने दार्जिलिङ जिल्ला लोवर नेवाङ मैरुङ गाउँका वीरेन राईलाई अभियानको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरको थियो ।
फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “जबरजस्ती करणीको आरोपमा एक पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित खनारकी १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् । करणीको आरोपमा दुहबी नगर पालिका –८ छिटाहाका ३० वर्षीय प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । चौधरीले बालिकालाई ललाइफकाई गरी इटहरी ९ स्थित गोधुली होटलमा लगेर धाकधम्की देखाई करण्ी गरेको भनी पीडितले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकलाई “सर्दु खोलाको पुल माघ भित्र सञ्चालनमा आउने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । वैकल्पिक राजमार्गलाई जोड्ने धरान १७ स्थित सर्दु पुल निमार्ण कार्य तीव्र बनेको छ । पुल निमार्ण तीव्र भएसँगै यो माघ महिनाभित्र पुल निमार्ण सम्पन्न भई सञ्चालनमा आउने दावी गरिएको छ । सो पुल निर्माण भएपछि साविक विष्णुपादुका र धरान उपमहानगरपालिकालाई जोड्दछ । भने बराहक्षेत्र जान सहज हुने छ ।
उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “लोगोमै चित्त बुझाउँदै फर्किए सांसद” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ को स्थायी राजधानी र नामकरण गर्न नसकेपछि प्रदेशसभाका सांसदहरु लोगो लगाएर जिल्ला फर्किएका छन् । प्रदेशसभाको बर्षे अधिवेशनमै रानधानी र नाम टुंगो लगाउन प्रदेश सरकारले पटक–पटक गरेको प्रतिवद्धता पूरा नभएपछि सांसदहरु प्रदेशसभाको प्रतिक चिन्ह ‘लागो’ लगाएर दशै मनाउन जिल्ला फर्किएका हुन् ।
धनकुटाका सांसद निरन राईले लोगो मै चित्त बुझाएको जवाफ दिए । उनले नाम र राजधानीको मुख्य बिषयमा कुनैपनि दलभित्र पर्याप्त छलफल नभएका कारण प्रदेशको लोगो भएपनि लगाएर जिल्ला फर्किन लागेको प्रतिक्रिया दिए ।
विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “प्रदेश १ मा २३ विधेयक पारित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ सरकारले अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै कानुन निर्माण गरेको छ । मंगलबार अन्त्य भएको संसदको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले गत जेठ १७ गते सुरु भएको दोस्रो अधिवेशनबाट १२ वटा विधेयक पास भएको जानकारी दिएका छन् । यसअघिको हिउँदे अधिवेशनबाट प्रदेश १ को संसदले ११ विधेक पारित गरेको थियो । संसदको दुबै अधिवेशनबाट कुल २३ वटा विधेयक पारित भएका छन् । बर्खे अधिवेशन कुल एक सय ३० दिन चलेको थियो, जसमा ५२ बैठक ५८ पटक बसे । बैठक कुल ६० घण्टा १५ मिनेट चलेको सभामुख प्रदिप भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री राईले भने, ‘तुलनात्मक रुपमा हेर्ने हो भने हामीले अन्य प्रदेशको भन्दा धेरै कानुन निर्माण गरेका छौँ । प्रदेशसभाले पाएको जिम्मेवारी पूरा गर्ने दिशामा हामी अग्रभागमा छौँ ।’ राईले यो प्रदेशमा सबै राजनीतिक दलबीचको उन्नत सम्बन्ध र सकारात्मक सोचाइका कारण धेरै काम गर्न सकिएको दाबी गरेका छन् । यही अधिवेशनमा बजेट तथा सरकारको नीति र कार्यक्रम पनि प्रस्तुत भई पारित भएको थियो । यो प्रदेशको सदनलाई गत जेठ २६ गते प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गरेका थिए ।








































































