इटहरी : पुरुष रोजगारीको खोजीमा नेपाल बाहिर जान थालेपछि सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा मजदुर अभाव भएको छ । आवश्यक मजदुर नपाउदा त्यसक्षेत्रका उद्योगी समस्यामा छन् ।
सुनसरी मोरङ करिडोरमा ३ सयको हाराहारीमा उद्योगहरु छन् । पुरुषहरु विदेशिएपछि उद्योगहरु महिला कामदारहरुको भरमा सञ्चालन हँुदै आएको छ । पछिल्लो ३ वर्षयता उक्त औद्योगिक करिडोर क्षेत्रमा मजदुर अभावले गर्दा उद्योगहरुले बजार माग वमोजिमको उत्पादन पनि बढाउन सकेको छैन ।

वषौंदेखि महिलाको भरमा सञ्चालन भएका उद्योगले अपेक्षित उत्पादन बढाउन नसकेको बताउँछन् । यद्यपी, उद्योगहरु सन्तोषजनकरुपमा चलिरहेको उद्योगीहरुको भनाई छ । नेपालकै ठूलो मानिएको रिलायन्स स्पिनिङ मिलका गोविन्द बजगाईंले पुरुष अभावमा महिलाले गरेको काम सन्तोषजनक रहेको बताए । पुरुषको तुलनामा महिला बढी खटिने उनले बताए । पुरुष कामदारको अभावलाई टार्न अहिले सुनसरी मोरङका ३ सय बढी उद्योगले महिलालाई कामदारका रूपमा खटाउन थालेको छ ।
कोरिडोरभित्रका चकलेट, चाउचाउ, बिस्कुट, प्लाष्टिक र जुट उद्योगमा मात्रै हजारौं महिला कामदार छन् । कोरिडोरका केही उद्योगमा भने महिला कामदार नै उत्कृष्ट सावित भएका छन् । करिडोर क्षेत्रका दर्जनौ उद्योगहरूमा कार्यकरत मजदुरहरूको नेतृत्व पनि महिलाहरूले नै गर्दै आएका छन । केही उद्योगहरूमा व्यवस्थापकदेखि कुशल नेतृत्व पनि महिलाले नै सम्हाल्दै आएका छन् ।
महिला कामदार थपिएसँगै अहिले मजदूर अभावको समस्या टरेको र उत्पादनले पनि राम्रै गति लिएको एशियन थाइ फूड्सका सञ्चालक महेश जाजूले बताए । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा हाल ६० हजारभन्दा बढी महिलाले रोजगारी पाएका छन् ।