धरान: दशैं तिहारमा उत्सवको नाममा लाग्ने मेलाले युवाहरुबीचमा झडपको स्थिति सृर्जना हुन थालेपछि प्रशासनले नै बन्द गराएको मेला यो बर्ष भने लगाउने तयारी भएको छ । धरान उपमहानगरपालिकाको बिहिबार बिहान बस्ने नगर कार्यपालिका बैठकमा धरानको २ ठाउँमा मेला लगाउने बिषय पनि एजेण्डाकोरुपमा प्रस्तुत हुदैछ ।

साँस्कृतिक उत्सवको नाममा आयोजना हुने मेलाले युवा समुहबीचमा आर्थिक विवादले द्वन्द निम्त्याएको र विकृति पनि बढाएको भन्दै प्रशासन र नगरपालिकाले नै केही बर्षदेखि धरानमा मेला लगाउन बन्द गरेको थियो । मेलाको स्वीकृति दिदा नगरपालिकाका कर्मचारी, दलीय संयन्त्रमा रहेका नेताहरुले पैसा लिने गरेको पनि ओपन सेक्रेट नै थियो । जनप्रतिनिधि आएपछि यसपटक मेला लगाउने तयारी स्वरुप बिहिबारको कार्यपालिका बैठकमा रमाइलो मेलाको दुई वटा एजेण्डा प्रस्तुत हुदैछ । अघिल्लो बर्ष स्वर्गीय मेयर तारा सुब्बाले मेलाले विकृति, विसंगति बढाएको भन्दै मेलाको स्वीकृति दिएका थिएनन् ।

एक वडाअध्यक्षका अनुसार बुधबार आकस्मिकरुपमा मेला लगाउने एजेण्डासहितको कार्यपालिका बैठकको एजेण्डाहरु हात परेको थियो । कार्यपालिका बैठकको एजेण्डाहरु ३ दिन अघि नै कार्यपालिका सदस्यहरुलाई दिनुपर्ने हुन्छ । तर, बिहिबारको बैठकको एजेण्डा बुधबार मात्र अध्यक्षहरुलाई जानकारी दिइएको थियो । अध्यक्षहरुलाई बाडिएको एजेण्डा कुल ७ वटा बुँदा छ । त्यसमा ४ र ५ नम्बर बुँदामा महोत्सव र रइमालो मेला उत्सवको एजेण्डा छ । वडा दशैं शुरु भइसकेको अवस्थामा मेलाको एजण्डासहित कार्यपालिका बैठक डाँकिएपछि मेला लगाउने पहिल्यै सेटिङ मिलेको ती अध्यक्ष बताउँछन् । ‘तयारीको साथमा नै यो एजेण्डा आएको हुनुपर्छ । भित्री केही सल्लाह भएरै आएको हो,’ती अध्यक्ष भन्छन् ।

बुँदा नं ४ मा ब्वाइज युनियन धरान ६ मा पानवारी महोत्सव सम्बन्धमा बैठकको एजेण्डा राखिएको छ भने ५ नं बुँदा छिमेकी युवा समुह धरान १२ को सस्तो बजार तथा रमाइलो साँस्कृतिक उत्सव सम्बन्धमा एजेण्डा राखिएको छ । अन्य एजेण्डाहरुमा शुभकामना आदन प्रदान र नेतृत्व विकास तालिम, सदा सागर मार्ग धरान ११ को मापदण्ड, सर्वाजनिक पुस्तकालय, सामाजिक परिचालिका सम्बन्धमा र चुरे क्षेत्र नदीजन्य पदार्थको उत्खनन स्वीकृत माग गर्ने सम्बन्धमा पनि बैठकको एजेण्डा रहेको छ ।

साँस्कृतिक उत्सव नाम मात्रको, जुवा र खेल तमासा नै बढी

एउटा समय थियो, दशैं शुरु हुनअघि नै धरान १२, पब्लिक स्कुलको मैदानमा दशैं तिहार साँस्कृतिक उत्सवको नाममा मेला लाग्थ्यो । साँस्कृतिक उत्सव, महोत्सव भनिएपनि मेलामा जुवाजन्य खेलतमासाहरु नै बढी हुन्थ्यो । साँझ १०, ११ बजेसम्म धरान रमझममा मस्त हुन्थ्यो । रोटेपिङ, हाउजी, मौतका कुवाजस्ता रमाइलो खेलाहरु मात्र होइन, रेष्टुरेष्ट र जुवाजन्य खेलहरुमा पनि धरान रमाउथ्यो । तर, धरानले यस्तो मस्तीमा रमाउन नपाएको थुप्रै बर्ष भइसक्यो ।

मेलाको नाममा युवाहरुबीचमा हानाथाप गर्ने, पैसा कमाउने र झगडा पनि हुन थालेपछि प्रशासनले नै मेला बन्द गराएको थियो । युवाहरु मात्र होइन, राजनीतिक दलका नेताहरु र नगरपालिकाका कर्मचारीहरुले पनि मेला स्वीकृति गरेवापत मेला आयोजकबाट पैसा लिन्थे । विकृति कतिसम्म बढीसकेको थियो भने दशैं नजिकिएपछि मेला लगाउन भन्दै दर्जनौं संघसंस्थाहरुले नगरपालिकामा निवेदन दिन्थ्यो, र अन्तमा सबैले पैसा लिएर एउटा संस्थालाई आयोजना गर्न छोडिदिन्थ्यो । जुन संस्थाले मेला आयोजना गर्ने सहमति पाउथ्यो, त्यो संस्थाले मेला शुरु हुनुअघि नै सबैलाई मिलाउन लाखौं रुपैया खर्च गर्नुपथ्र्यो ।