धरान : चर्चित अल्ट्रा ट्रेल धाविका मिरा राई गेम चेञ्जर अवार्डबाट सम्मानित भएकी छन । अमेरिकाको न्युयोर्कमा रहेको एसिया सोसाइटीले उनलाई सन् २०१८ को लागि यो अवार्ड प्रदान गरेको हो।
अक्टोबर ९ को राती न्युयोर्कको लोअर म्यानहटनमा एक समारोहबीच मिरा सम्मानि त भएकी हुन् । अरु बेला सधै स्पोर्टस् पहिरनमा देखिने उनी उक्त समारोहमा भने सारीमा सजिएर अवार्ड ग्रहण गर्न पुगेकी थिइन् । एसियामा असाधारण काम गर्ने ९ व्यक्तिमध्ये मिरा पनि छनौटमा पर्न सफल भएकी हुन् । आयोजक संस्थाले उनलाई थुप्रै अवरोधहरु छिचोलेर साहसका साथ किर्तिमानहरु कायम गर्दै संसारलाई प्रेरणा दिएको भन्दै सम्मान गरेको जनाएको छ । मिरासँगै उक्त अवार्डबाट विभिन्न मुलकका अन्य ८ समुह र व्यक्तिहरु पनि सम्मानित भएका थिए ।
अवार्ड ग्रहण गरेपछि मिराले आफु सपनाको सहरमा भए भैm अनुभूति भएको प्रतिक्रिया दिइन् । आफुले पाएको अवार्ड सम्पुर्ण नेपालीको लागि गौरव भएको भन्दै उनले आफ्नो खुशी टिम र सम्पुर्ण नेपालीहरुलाई बाड्न चाहेको बताइन् । उनले भनिन्,‘आत्मबिश्वास, समर्पित भावना, अथक मेहनत र मौकालाई सही प्रयोग गर्दा अवश्य सफल भइन्छ । विश्वका संघर्षशिल नारीहरु उत्प्रेरित भए मेरो सफलता र सम्मानको थप महत्व हुन्छ ।’
अल्ट्र रेसबाट विश्वमा आफु र नेपाललाई चिनाएकी मिराले थुप्रै किर्तिमानहरु पनि कायम गरेकी छिन् । मिराले २०१५ फ्रान्समा भएको एकल माउण्ट ब्लान्क अल्ट्रा म्याराथनमा स्वर्ण पदक, २०१५ मा हङकङमा भएको स्काई रनिङ एशियन च्याम्पियनसिपमा स्वर्ण पदक, २०१७ मा बेलायतमा सम्पन्न बेन नेभिस अल्ट्रा दौडमा स्वर्णलगायत दर्जनौँ पदक जित्न सफल भइसकेकी छिन् । सन् २०१६ मा नेसनल जोग्राफीले प्रदान गर्ने ‘एड्भेञ्चर अफ दी इयर’ घोषित भएकी थिइन् । पुर्वको भोजपुरमा जन्मिएकी उनी कुनै बेला माओवादी लडानु बनेर भुमिगत थिइन् । सेना समायोजनको क्रममा अयोग्य घोषित भएकी उनी खेलकुदतिर लागिन् । अहिले अल्ट्रा रेसबाट विश्वचर्चित बनेकी छिन् ।








































































