धरान : आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन ।सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो । यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा ९धर्म० मुचुल्का’को रुपमा चिनिन्छ । किरात धर्मको समाज सुधारकको रुपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।
किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिंह थेगिम बताउछन्।
अध्यक्ष थेगिमका अनुसार किरातीहरुलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्नुहुने महागुरु फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरुलाई पाँचथरको लेबे्रकुटी भन्ने स्थानमा भेला गराएर दश बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गराउनु भएको थियो । त्यही ‘सत्य हाङ्मा ९धर्म० मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशको रुपमा लिइने गरिएको छ । नौ हात लामो काँचो कागजमा लेखिएको मुचुल्काको एउटा प्रतिलिपी आफूसँग सुरक्षित भएको अध्यक्ष थेगिमले जानकारी दिए ।
सोही धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरु समावेश गरिएका छन् । उनले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गरेका थिए ।
समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरीव परिवारमा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उनि आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए ।
न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उहाँ बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भएका थिए। बेलायती सेनामा केही वर्ष काम गरेका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागीरबाट राजीनामा दिई धार्मिक सुधार अभियान चलाए । यस क्रममा उनि भारत र भुटानसम्म पुग्नुभएको बताइन्छ ।
नेपाल सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मानस्वरुप रु १५ को हुलाक टिकट प्रकाशन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुग्नुभएका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किरात धर्मावलम्बीहरुका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो ।
झापाको दमक र अर्जुनधारा नगरपालिका, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायतका पालिकाहरुले आज कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
विश्वबान्धुत्व र अहिंसाका महान् तपस्वी किरात धर्मगुरु फाल्गुनन्दको पवित्र सन्देशलाई विश्वभर फैलाउने कार्यमा उनका नातिसमेत रहेका किरात धर्मगुरु आत्मानन्द लिङ्देनले अगुवाइ गरिरहेका छन् ।
इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गर्नुभएको माङ्हिम अहिले किरात धार्मिक स्थलको रुपमा प्रसिद्ध छ भने पाँचथरको लेबे्रकुटी, सिलौटीलगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको छ ।
धर्मगुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीको उपलक्ष्यमा आज पाँचथर सदरमुकाम फिदिममा फाल्गुनन्दको विशाल शालिकको अनावरण गरिँदैछ । सो कार्यक्रममा भाग लिन काठमाडौँबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल फिदिम आउनुहुने कार्यक्रम रहेको बताइएको छ ।
अनावरण कार्यक्रममा इलामको लारुम्बास्थित माङ्हिमबाट धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङ साँवा लिङ्देन जाने उनिहरुका निकटस्थ खगेन्द्र लिङ्देनले जानकारी दिए ।
किरात समुदायमा धर्म र संस्कृतिको ज्ञान दिनुहुने महागुरु फाल्गुनन्दको योगदानलाई सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरुले उचित महत्व प्रदान गर्नुपर्ने आदिवासी जनजाति पत्रकार महासङ्घ १ नं प्रदेशका संयोजक दिपीन राई बताउछन् ।








































































