न्युयोर्क: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफूले नचिनेको व्यक्ति र सहभागी नभएको कार्यक्रममा भएको घटनामा आफ्नो नाम मुछिएकोमा दुःख व्यक्त गरेका छन् ।
अमेरिकाबाट बैंकक उड्नुअघि मुख्यमन्त्री राईले एक अनलाईन पत्रिकासँग कुराकानी गर्दै पत्रकार लोकमणी राईमाथि भएको घटनामा पनि उनले दुःख व्यक्त गरेका छन् । तर, उनले आफू मात्र नभई उक्त घटनामा आफ्ना सहयोगी पारुहांग राईको पनि कुनै संलग्तना भएको जिकिर गरेका छन् । मुख्यमन्त्री राईले उपचारको लागि थाइल्याण्डसँग सँगै अमेरिका जाने आफ्ने कार्यतालिकालाई पनि प्रदेश मन्त्रीपरिषद बैठकले स्वीकृति गरेको र संघीय सरकारलाई पनि जानकारी गराएको दाबी गरेका छन् ।
मुख्यमन्त्री राईले पत्रकारलाई कुटपिट गरेको भनिएका उमेश राईलाई आफुले कहिल्यै नचिनेको बताएका छन् । घटना न्यूयोर्कमा भएको र उक्त दिन आफु बाल्टिमोरमा भएको पनि हिमालय खबर अनलाईनलाई मुख्यमन्त्री राईले बताएका छन । 'उमेश न नेकपाको कार्यकर्ता हो, न मसँग भेटघाट भएको छ । समाचार सुन्दा पनि अचम्म लागेको छ,' मुख्यमन्त्री राईले भनेका छन्,'मेरो सहयोगी पारुहांग राईको सोल्टीले आक्रमण गरे भनेर समाचार आयो । मेरो सहयोगी, आफन्तले जे गरेपनि मलाई जोड्न मिल्छ र ?'
मुख्यमन्त्री राई थाइल्याण्डबाट अमेरिका भ्रमणमा आएको बिषयमा एक अनलाईनमा समाचार लेखेको बिषयमा पत्रकार राईलाई उमेश राईले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । पत्रकार राईल अस्पतालको तस्बिर फेसबुकमा पोष्ट गर्दै आफुलाई समाचारको बिषयमा मुख्यमन्त्री राईका सहयोगी पारुहांगका सोल्टी पर्ने उमेश राईले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै फेसबुकमा पोष्ट गरेपछि मुख्यमन्त्री विवादमा तानिएका थिए । साथै, उक्त घटनाको पत्रकारहरुले विरोध जनाएको थियो । मुख्यमन्त्री राई घाँटीको उपचार गराउन आफ्नै खर्चमा थाइल्याण्ड गएका थिए । जाँचको रिपोर्ट आउन समय लाग्ने भएपछि उनी पारिवारीक भ्रमणमा थाइल्याण्डबाट अमेरिका पुगेका थिए । उनी बैककबाट पर्सी नेपाल फर्कने बताइएको छ ।








































































