धरान: एक साताभित्र ३ जनामा डेंगु ज्वरो भएको फेला परेपछि धरानमा डेंगु सार्ने लामखुट्टे मार्ने अभियानलाई तीब्रता दिइएको छ ।

धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ वटा मेशिन सहयोग लिएर लामखुट्टे मार्न धुवा छर्ने(फगिङ) गरिरहेको छ । डेंगुको ज्वरो भएको पुष्टि हुनासाथ कार्तिक २० गतेदेखि उपमहानगरपालिकाले लामखुट्टे मार्न फगिङ शुरु गरेको जनाएको छ । हाल धरानको ७ वटा वडामा फगिङ कार्य भइसकेको डेंगुविरुद्धको अभियानको जिम्मा पाएका कार्यपालिका सदस्य सुवास राईले जानकारी दिए । ‘बिहान र बेलुकी फगिङ गर्ने काम भइरहेको छ, यसले डेंगु सार्ने मच्छडलाई मार्छ । आजसम्म ७ वटा वडामा भइसकेको छ,’उनले भने ।

फगिङ गर्ने कामसँगै सर्वसाधारणहरुलाई सुसुचित गरेर लामखुट्टेको लार्भा मार्ने अभियान पनि जारी राखेको राईले जानकारी दिए । केही समयपछि लार्भा मार्नकोलागि स्प्रे गर्ने कार्यलाई पनि थालनी गर्ने उनले बताए । ‘तत्काल लामखुट्टेलाई मार्ने कार्य भइरहेको छ, तर योसँगै जनताहरुलाई माइकिङ गर्दै लार्भा सफा पानीमा बसेको हुन्छ, त्यस्तो पानी जम्न नदिनुस् भनेर सुसुचित पनि गरिरहेका छौं,’उनले भने,‘लार्भालाई मार्नको लागि पनि हामी योजना बनाउदैछौं ।’ उपमहानगरपालिकाले बीपीबाट ल्याएको मेशिन गाडीमा राखेर धुवा छर्ने(फगिङ) गर्ने काम गरिरहेको छ । अभियानले तीब्रता पाएपनि गाडी नछिर्ने बाटो भएको आवासिय क्षेत्रमा भने फगिङलाई चुनौती पनि छ । यही बिषयमा सोमबार उपमहानगरपालिकामा बैठक बस्ने र थप रणनीति बनाउने पनि कार्यपालिका सदस्य राईले जानकारी दिए ।

IMG_6902 copy

एडिस एजिप्टाई नामको पोथी लामखुट्टेको टोकाईबाट डेंगु ज्वरो मानिसमा हुन्छ । तिहारको समयमा एक साताभित्र ३ जनामा डेंगु ज्वरोका विरामी भेटिएको थियो । धरान १० स्थित विजयपुर हस्पिटलमा सबैभन्दा पहिला कार्तिक १५ गते धरान १० का एक युवामा डेंगु ज्वरो भएको परिक्षणबाट देखिएको थियो । डेंगु ज्वरोको विरामी भेटिएलगत्तै धरान उपमहानगरपालिकाले उच्च सतर्कता अपनाउने र फगिङ गर्ने निर्णय भएको थियो । सोही हस्पिटलमा पुनः केही दिनमा २ जनामा डेंगु ज्वरोका नयाँ विरामी फेला परेको थियो । उपमहानगरका अनुसार धरानको वडा १०, १७, ११, १२, १, १६ र १३ वडामा फगिङ भइसकेको छ ।

एडिस लामखुट्टेले दिनमा मात्र टोकेर डेंगु सार्ने भएकोले दिउँसो आवश्यक सर्तकता अपनाउनुपर्ने चिकित्सकहरुले सुझाएका छन् । एडिस लामखुट्टे सफा पानीमा बस्ने र लार्भा बनाउने भएकोले आफ्नो घर वरीपरी पानी जम्ने खालको बोतल, टंकी, फुटेको कप, टायर, खाली बट्टालगायत सामानहरु नराख्न पनि चिकित्सकहरुको आग्रह छ । डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हुन्छ । यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ । ज्वरोको साथसाथै आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, शरीरमा विमिरा आउने र रक्तस्राव हुने पनि लक्षण देखिन्छ । यस्तै जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने पनि हुन्छ । चिकित्सकहरुका अनुसार ज्वरो आउनुका साथै २ भन्दा बढी लक्षणहरु देखापरेमा डेंगु ज्वरो भएको हुनसक्छ । यस्ता लक्ष्मणहरु देखा परेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन जान चिकित्सकहरुको सुझाव छ ।

aIMG_20181110_173506 copy