विराटनगर : नगरका विभिन्न स्थानमा बनेका पिच बाटोको अनुगमन गर्ने कार्यलाई विराटनगर महानगरले तीव्रता दिएको छ ।  

एशियाली विकास बैंकको सहयोगमा चलिरहेको क्षेत्रीय विकास परियोजना र क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत बनेका सडक, ढल र नालाको मङ्गलबार विराटनगर महानगरका मेयर भीम पराजुलीले अनुगमन गरेका थिए ।

मेयर पराजुलीले अनुगमनका क्रममा समय सीमाभित्रै परियोजना अन्तर्गतका सडक सम्पन्न गर्न निर्देशन दिए । विराटनगरस्थित रोड शेष चोक हुँदै ट्राफिकचोक सम्म बन्दै गरेको झण्डै १ किलोमिटर पिच बाटो र धरमबाँध रोडमा बनेको ३ किलोमिटर पिच बाटाको मेयरले अनुगमन गरेका थिए । अनुगमनका क्रममा मेयर आफैँले सडकको पिच ४० एम.एम भए नभएको भन्दै विभिन्न स्थानको नाप समेत लिएका थिए ।

परियोजनाका प्रमुख भरत न्यौपानेले समय सीमाभित्रै परियोजना अन्तर्गत परेका सबै सडक पिच बनाउने कार्य सकिने परियोजनाका प्रमुख भरत न्यौपानेले बताए । ढल, नाला र सडक पिच गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको न्यौपानेले बताए ।