धरान: नेपालमा साहसिक खेल पर्यटन प्याराग्लाइडिङको व्यावसायिक हब हो पोखरा । तर, त्यही पोखराका तीन युवा भने विगत ५ दिनदेखि प्रदेश १ को उदयपुर जिल्लामा प्याराग्लाइडिङ कोर्ष गरिरहेका छन् । उदयपुरको बेलका नगरपालिका ८ स्थित वोप्ताङमा नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा)ले आधारभूत प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । पोखराबाट आएका युजेन, योगेश र युनिष गुरुङले १५ दिने बिगिनर्स कोर्ष यही गरिरहेका छन् ।

यसअघि कार्तिक अन्तिम सातामा भएको पहिलो ब्याचमा पनि ३ जना पोखराका प्रशिक्षार्थी थिए भने एक जना पाल्पाली युवा थिए । नेपालमा प्याराग्लाइडिङ स्कुल खुलेको यो तेस्रो हो भने सरकारीस्तरमा सञ्चालनमा आएको पहिलो स्कुल हो । त्यसैले अन्यत्र भन्दा सस्तो शुल्कमा कोर्ष सञ्चालन हुन थालेछि प्याराग्लाइडिङ पाइलट बन्न चाहनेहरु पुर्वतर्फ आकर्षित भएका हुन् । कोर्षको व्यवस्थापन गरिरहेको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका सचिव राम राईका अनुसार उदयपुरको वोप्ताङ बिगिनर्स कोर्षको लागि र सुनसरीको धरान एड्भाञ्स(टेण्डम) कोर्षको लागि नेपालकै केन्द्र हुने तरखरमा छ ।

Paralaigadina (3)

वोप्ताङमा ७ जनाको दोस्रो ब्याचले बिगिनर्स कोर्ष गरिरहेको छ । तीमध्ये एक जना संखुवासभाका, २ जना बेलका नगरा र एक जना धरानका युवा छन् । धरानमा जनवरी ५ देखि १५ जनाको टोली एड्भान्स(टेण्डम) कोर्ष गर्न आउदैछन् । ‘टेण्डम कोर्षको लागि पोखराबाटै १५ जनाको टोली आउदैछ, अब उदयपुर र सुनसरी प्याराग्लाइडिङ प्रशिक्षणको लागि नेपालकै हब बन्छ भन्ने प्रमाणित भइसक्यो,’सचिव राईले भने । प्याराग्लाइडिङ सिक्न चाहनेहरुको लागि प्रदेश १ को उदयपुर(बेलका) र सुनसरी(धरान) सस्तो शुल्क भएर मात्र आकर्षिक भएका होइनन् । स्याङ्जाको शिरकोट र तनहुँको बन्दीपुरमा भन्दा सुविधा, सहज र कम जोखिम भएको कारण पनि यता कोर्ष गर्न चाहनेहरुको संख्या बढेको हो । बेलकामा गत कार्तिकमा प्रशिक्षण केन्द्रको स्वीकृति मिलेपछि तेस्रो सातादेखि कोर्ष शुरु भएको थियो भने सुनसरी(धरान)मा भर्खर मात्र नेपाल उड्यान प्राधिकरणले एयर स्पेश(हवाई खेलमैदान)को स्वीकृति दिएको छ ।

यसअघि, बाबु एड्भेञ्चरले शिरकोटमा र ब्लु स्काईले बन्दीपुरमा प्रशिक्षण दिइरहेको थियो । नेफाले प्रदेश १ मा प्रशिक्षककोरुपमा सुरेन गुरुङ र देशवीर जिमीलाई पनि नियुक्ती दिइसकेको छ । ‘सस्तो मात्र भएर होइन, सहज र सुरक्षित भएर पनि पुर्वमा कोर्ष गर्न आउनेहरु बढेको हो,’प्रशिक्षक जिमीले भने,‘उत्तरतिर डाँडाकाडा भएपनि तलतिर समथर भुभाग छ, त्यसैले ल्याण्डिङ जही पनि सजिलै गर्न सकिन्छ ।’ प्रशिक्षक जिमीका अनुसार प्याराग्लाइडिङ सिक्नको लागि नेपालबाट मात्र होइन, पुर्वमा विदेशीहरु पनि आउने सम्भावना छ । अन्यत्र अढाई लाख खर्च हुने कोर्ष यता डेढ लाखमा भइरहेको छ ।

48373557_2207561909499464_7573492175804039168_n

नजिकै बिपी प्रतिष्ठानजस्तो ठुलो अस्पताल, सडक र यातायातको सहज पहुँचले उद्दार गर्न सहज पनि भएकोले बेलाकाको बिगिनर्स कोर्ष र धरानमा एड्भान्स(टेण्डम) कोर्ष गर्न अहिलेदेखि नै धेरैको चासो भएको प्रशिक्षक जिमीले बताए । शिरकोट र बन्दीपुरमा उडिरहदा कतै अलमल भए वा समस्या हुदा ल्याण्डिङ गरेको ठाउँबाट उद्दार गर्न २ दिनजति समय लाग्ने पाइलटहरु बताउँछन् । तर, धरान वा बेलकामा यस्तो समस्या नभएको उनीहरु बताउँछन् । ‘प्याराग्लाइडिङको हब पोखरा हो, तर सरकारीस्तरमा पहिलो प्रशिक्षण केन्द्र पुर्वमा खुल्यो, यसले प्रदेश १ कै पर्यटन र आर्थिक गतिविधिलाई पनि माथि उठाउछ,’जिमी भन्छन्,‘एसियन गेममा रजत पदक जितेकोले पनि युवाहरुमा खेलकोरुपमा पनि प्याराग्लाइडिङमा आकर्षण बढेको छ ।’

हाइटेन्सनबाट निराश पर्यटनकर्मीहरु

धरानदेखि मोेरङको लेटाङ मास्तिरको चुरेक्षेत्रसम्मलाई समेटेर नागरिक उड्यायन प्राधिकरणले एडभान्स (टेण्डम) कोर्ष र अन्र्तराष्ट्रिय प्रतियोगितासमेत गर्न मिल्ने गरी एयरस्पेश(हवाई खेलमैदान)को स्वीकृति पाउदा साहसिक खेलपर्यटनमा संलग्नहरु खुशी छन् । तर, धमाधम काम भइरहेको कोशी कोरिडोरअन्र्तगतको विद्युत प्रसारण (हाइटेन्सन)लाइनबाट भने उनीहरु उतिकै निराश पनि छन् । धरानको वडा नं २०, गोर्खा पार्क, चिण्डे डाँडा, भेडेटार हुदै विस्तार हुने हाइटेन्सन लाइनले प्याराग्लाइडिङलाई प्रत्यक्ष असर पुग्छ । ‘हाइटेन्सनलाई सार्न सकिएन भने व्यावसायिक प्याराग्लाइडिङको उडान र नेफाले शुरु गरेको प्रशिक्षण केन्द्र दुवै नै विस्थापित बनाउछ,’बुढासुब्बा प्रालिका सचिव राईले चिन्ता व्यक्त गर्दै भने । यो समस्याप्रति धरान उपमहानगरपालिका पनि गम्भीर देखिएको छ । उपमहानगरले औपचारिकरुपमा नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेर हाइटेन्सनको एलाइमेन्ट सार्न आग्रह गरेको छ भने कार्यवाहक प्रमुख मञ्जु भण्डारीले पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री बर्षमान पुनलाई पनि भेटेर समस्याबारे अवज्ञत गराइसकेकी छिन् ।