जनकपुर : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विशेष विमानबाट जनकपुर विमानस्थलमा अवतरण गरेर प्रसिद्ध जानकी मन्दिर पुगेका छन् ।
संघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरुले मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स्वागत गरेका थिए । मुख्यमन्त्री योगी विमानस्थलबाट जानकी मन्दिर पुगेर जानकीको पुजा र मन्दिर परिक्रमा पनि गरेका थिए । योगी विवाह महोत्सवमा भाग लिन जनकपुर आएका हुन् । उनी जन्ती बनेर आएका हुन् । विवाह महोत्सव तथा मुख्यमन्त्री योगीको सुरक्षाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । मुख्यमन्त्री योगी आजै ४ बजे तिर फर्कने छन् ।








































































