धरान: शारीरिक सुगठन खेलको विकास एवं प्रर्वद्धन गर्ने उद्देश्यले दोस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता फागुनको दोस्रो साता धरानमा हुने भएको छ ।
धरान–१५ को एलाइनेट जिमको आयोजनमा आगामी फागुन १० र ११ गते धरान–८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको हो । एलाइनेट जिमको यो १६ औं प्रस्तुती हो भने नेपाल च्याम्पियनको दोस्रो संस्करण हो । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, पाल्पा, कास्की, रुपन्देहीलगायत जिल्लाका करिब ५० जना बढी शारीरिक सुगठनका खेलाडीहरुले सहभागिता जनाउने आयोजक एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूले जानकारी दिए । ‘अहिले चयाम्पियनसिपहरु नियमित जसो भइरहेको छ, त्यसैले गत सालको भन्दा यसपाली धेरै सहभागी हुने अपेक्षामा छौं,’बुधबार आयोजित पत्रकार सम्मेललनमा लिम्बूले भने ।
आयोजकका अनुसार प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समुहबाट प्रतिस्पर्धा गराइने छ । प्रि–जर्जिङ राउण्डमा एक वजन समुहबाट ६ जना फाइनल प्रतियागितामा सहभागी गराइने अध्यक्ष लिम्बूले बताए । त्यसैले, फाइनल राउण्डको लागि कुल ३० जना खेलाडीहरु छनौट हुनेछन् । प्रतियोगितामा भाग लिन एउटा क्लवबाट एक वजन समुहमा २ जना मात्र सहभागी हुन पाउनेछन् भने सबै वजन समुहमा दश जना खेलाडी र एक जना टिम मेनेजरले भाग लिन पाउनेछन् । प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीले मात्र उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गर्न पाउनेछन् ।
विजेताको पुरस्कार राशीमा वृद्धि
आयोजक क्लबले यो बर्ष उपाधि विजेतालाई नगद पुरस्कार राशीमा वृद्धि गरेको छ । एलाइनेट जिमका अनुसार ओभरअल राउण्डमा प्रथम हुदै नेपाल च्याम्पियन हुनेले नगद १ लाख ५० हजार हात पार्नेछ । यो पुरस्कार गत बर्षको भन्दा ५० हजार बढी हो । पहिलो सँस्करणमा उपाधि विजेताले एक लाख मात्र नगद पाएका थिए ।
विजेतालाई नगद पुरस्कार राशीमा वृद्धि गरिए पनि अन्यको पुरस्कार राशीमा भने वृद्धि नगरिएको आयोजक क्लबका अध्यक्ष लिम्बुले बताए । उपविजेताले नगद ५० हजार, तेस्रोले हुने खेलाडीले ४० हजार, चौथोले ३० हजार र पाँचौ हुनेले नगद २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाउने छन् । यसैगरी, बेस्ट प्रोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ, बेष्ट टिम शिर्षकमा नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । ‘हामी सबै पुरस्कारमा नगद बढाउन चाहन्छौ, तर प्रायोजक नै भेटिदैन,’उनले भने,‘डाइटमा खर्च धेरै हुने भएकोले खेलाडीहरुको खर्च पनि कम हुदै गएको छ ।’
यसपटक राष्ट्रिय जजेज कार्यशाला गर्ने
आयोजकका अनुसार यसपटक प्रतियोगिताको दुई दिनअघि राष्ट्रिय जजेज कार्यशाला समेत गर्ने जानकारी दिएको छ । मोफसलबाटै राष्ट्रियस्तरका निर्णायकहरुको उत्पादन गर्ने उद्देश्यले जजेज कार्यशाला गरिने भएको क्लवका उपाध्यक्ष विकास कुमार गुभाजुले बताए । केन्द्रबाट आएका राष्ट्रिय निर्णायकहरुले शारीरिक सुगठन प्रतियोगितामा निर्णायकले देखाउने भुमिकाको विषयमा तालिम प्रदान गर्ने उनले बताए ।
‘केन्द्रबाट आएका राष्ट्रिय निर्णायकहरुले हाम्रो मोफसलका निर्णायकहरुलाई निर्णायकको भुमिकाको विषयमा तालिम दिनुहुन्छ अनी उहाँहरुलाई सर्टिफाइड गरेपछि मान्यता हुन्छ,’ क्लवका उपाध्यक्ष गुभाजुले भने ‘क्लवको उद्देश्य मोफसलमा नै राष्ट्रिय निर्णायक उत्पादन गर्ने हो ।’








































































