झापा: भारतको विहारबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएको एक बालकलाई प्रहरीले उद्दार गरेको छ भने तीन जना अपहरणकारी पक्राउ परेका छन् ।
प्रहरीले विहारको सुपौल जिल्लाका ७ बर्षीय महफुज अलामको सशुकल उद्दार गरेको हो । उनलाई अपहरण गरी बन्धक बनाएर राख्ने झापा गौरीगञ्ज ४ का २७ बर्षीय अञ्जुदेवी मुखियालाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनले बालकको परिवारसँग फिरौती वापत भारतीय १५ लाख मागेको पनि खुलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी श्यामल सुब्बाले जानकारी दिए । उनका अनुसार मुखियाकै बयानका आधारमा गौरीगञ्ज–६ खजुरगाछीका ४७ वर्षीय बद्री यादव र गौरीगञ्ज ४ का बिट्टु भनिने श्रीप्रसाद मुखियालाई पनि पक्राउ गरिएको छ ।
अपहरित बालकका बुबा मोहमद सदामका अनुसार मावली घरमा खेलिरहेको छोरालाई ५ दिनअघि अपरहण गरेका थिए । मोटरसाइकलमा २ जना व्यक्तिले हालेर अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अपहरणमा बालककै आफन्तजनको संलग्तना रहेको प्रहरी स्रोतको भनाई छ । मावलीघरबाट आफन्तले नै लगेर प्रतापगञ्जमा श्रीप्रसाद मुखियाको जिम्मा लगाएका थिए । उनले बालकलाई नेपाल ल्याएका थिए । अपहरणकारीले भारतीय रुपैयाँ १५ लाख फिरौती माग गरेको थिए । बालकको मामा लाई फोन गर्दै अपहरणकारीले ‘तेरा बच्चा मेरो साथमा छ, १५ लाख रुपैयाँ फिरौती लिएर आउनु’ भन्दै सम्पर्क गरेका थिए । प्रहरीलाई खबर गरे बच्चाको ज्यान मार्ने धम्की दिएपनि बालकका आफन्तहरुले भारतीय प्रहरीलाई खबर गरेपछि उद्दार सम्भव भएको थियो ।
भारतीय प्रहरीहरु बालकको उद्दार गर्न नेपाल आएका थिए । बालकका आफन्तसहित आएको भारतीय प्रहरी र नेपाल प्रहरीबीच सहकार्य भएर संयुक्तरुपमा खोजी गर्दा दमक–५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बालकलाई बन्धक बनाएर राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उद्दार गरिएको बालकलाई परिवारको जिम्मा दिएको छ ।
पक्राउ परेकाहरुविरुद्ध बुधबार मुलुकी ऐन संहिता २०७४ को अपहरण तथा शरीर बन्धक कसुर अन्र्तगत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । उनीहरुलाई ५ दिनको म्याद थप भएर अनुसन्धान शुरु भइसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र ऐक्तेनले जानकारी दिए । यो ऐनमा कसुर ठहरेमा १० देखि १५ वर्षसम्म र १ लाखदेखि १ लाख ५० हजार रुपैयाँ सम्म जरिवाना सजायको ब्यवस्था छ ।








































































