इटहरी: सुनसरीको इटहरी र धरान क्षेत्रको बीचमा पर्ने चारकोशे जंगललाई दुवै उपमहानगरपालिकाले डम्पिङ साइट बनाउँदा वन क्षेत्र पनि मासिदै गएको छ । दुवै नगरले फालेको फोहोर जलाउदा फोहोरसँगै रुखविरुवा पनि जल्ने गरेको छ ।
कानुनले वनजंगलमा फोहोर फाल्न र आगो लगाउन प्रतिबन्ध लगाए पनि दुवै स्थानीय तहले जंगललाई नै डम्पिङ साइट बनाएको छ । यसले रुखविरुवा, वन्यजन्तु र वातावरणलाई प्रत्यक्ष असर पुगेको छ । फोहोरलाई आगो लगाउदा प्लाष्टिकजन्य फोहोर जलेर निस्केको धुँवाले धरान इटहरी सडकखण्डमा यात्रा गरिरहेका मानिसको स्वास्थ्यलाई पनि असर भइरहेको छ । जिल्ला वन महासंघ सुनसरीका अध्यक्ष केशव गौतमले वन क्षेत्रमा फोहोर फाल्नु वन ऐन विपरीत भएको र फोहोरको कारण वनक्षेत्र मासिदै जाने भएकोले दुवै स्थानीय तहले विकल्प खोज्नुपर्ने बताए । ‘जंगल डम्पिङ साइट बनाउनु दुःखद् हो, यसले वातावण र स्वास्थ्यलाई पार्ने असरबारे उपमहानगरले सोच्नुपर्छ,र तत्काल उचित विकल्प खोज्नुपर्छ,’उनले भने ।

चारकोशे जंगलमा इटहरीबाट दैनिक ३३ टन र धरानबाट ४० टनभन्दा बढी फोहोर फालिने गरेको छ । धरानले सेउती खोला किनारमा फोहोर फाल्ने गर्छ भने इटहरीले वन क्षेत्रको बीच भागमा नै फोहोर फाल्ने गर्छ । यहाँ १२ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा २३ वटा सामूदायिक वन र राष्ट्रिय वन क्षेत्र पनि पर्छ । फोहोर फालेर जलाउने कारण विहान र बेलुकीको समय धुँवाले मुख्य राजमार्गमा प्रत्यक्ष प्रभाव पर्छ । धुँवाको कारण बर्षेनी हिउँदको समयमा दुर्घटना बढाउने र मानव स्वास्थ्यलाई पनि गम्भीर असर पर्ने ट्राफिक प्रहरी पोष्ट तरहराका इन्चार्ज भुवन बिक बताउँछन् । उनका अनुसार गत बर्ष मात्रै वन क्षेत्रमा धुवाँका कारण दुई दर्जन बढी दुर्घटना भएको थियो ।
इटहरीको फोहोर व्यवस्थापनको जिम्मा लिएको वेष्ट इन्भारो एण्ड मेनेजमेण्ड कम्पनीका व्यवस्थापक कृष्ण भट्टराईले आफूहरुले फोहोर फाले पनि आगो भने नलगाइने बताए । कवाडी टिप्ने मानिसहरुले फोहोर जलाउदा रुखविरुवालाई पनि असर परेको उनको भनाई थियो । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले तत्कालका लागि चारकोशे जंगलमा फोहोर फाल्ने र अर्को बर्षबाट आफ्नै डम्पिङ साइटमा व्यवस्थित गरेर फोहोर संकलन गर्ने उनको भनाई छ ।









































































