धरान:बजार अनुमगनलाई तीब्रता दिने क्रममा धरान उपमहानगरपालिकाले एक सातामा दोस्रो पटक औषधी पसल(मेडिकल)हरुको अनुगमन गरेको छ । अनुगमन अधिकृत दिवश अधिकारीको नेतृत्वमा उपभोक्ता हित संरक्षण मञ्च धरान, सुनसरी उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले मेडिकलहरुको अनुगमन गरेको हो ।
यसअघि, मंसिर २३ गते आइतबार पनि धरानको चतरालाइन, छाताचोक उत्तरका मेडिकलहरुको अनुगमन भएको थियो । अनुगमन टोलीले छाताचोकदेखि पुर्वतर्फ हुदै धरान–३ चिनिया चोक, माछा भौडीका एक दर्जन(१२ वटा) मेडिकल पसल तथा पशु औषधी पसलहरुको बुधबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा धरान–३ को अस्मी मेडिकल हलमा सम्बन्धीत व्यक्ति र कागज पत्र नराखेको पाइएकोले आवश्यक कागज पत्रसहित ७ दिन भित्र धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखामा आउन पत्र थमाइएको अनुगमन अधिकृत अधिकारीले जानकारी दिए ।
अधिकृत अधिकारीका अनुसार धरान–३ चिनिया चोकको खान मेडिकल, आराम मेडिकल र केयर मेडिकलमा विना स्वीकृति ल्याब टेष्ट, विरामी चेक गर्ने गरेको पाइएको थियो । ती मेडिकलहरुलाई स्वीकृति लिएर मात्र काम गर्न सुझाब दिएको पनि उनले बताए । ‘मुख्य समस्या भनेको सम्बन्धीत व्यक्ति नबस्ने छ, तर, अस्ति आइतबारको तुलनामा अलि बढी सम्बन्धीत मान्छे भेटियो । तरपनि औषधि पसल मात्र सञ्चालन गर्ने अनुमति लिएर विरामी चेक गर्ने, ल्याब टेष्ट गर्ने गरेको पाइयो,’ अधिकृत अधिकारीले भने,‘हामीले स्वीकृति लिएर मात्र गर्नुस भनेर सुझाब दियौं ।’ यसैगरी, धेरै पसलहरुमा औषधि विक्री गरेपनि विलमा उल्लेख नगरेको पाइएकोले विलमा अनिवार्यरुपमा अभिलेख राख्न पनि सुझाब दिएको उनले बताए ।
धरान–३ कै धरान औषधि पशु औषधिपसलमा विषादीको अभिलेख व्यावस्थापन गर्ने, उपभोक्ताले खरिद गरेर लादा सम्पूर्ण विवरण राखेर मात्र विक्री गर्न सुझाब दिएको उनले बताए ।
पहिला सचेतनाको रुपमा अनुगमन
स्थानीय सरकारलाई बजार अनुगमनको लागि सम्पूर्ण अधिकार भएकोले यसबारेमा सचेतना बढाउनको लागि पनि अनुगमनलाई तीब्रता दिएको अधिकृत अधिकारीले बताए । अनुगमनको दायरा ठुलो भएकोले खाद्य, मिठाइ, मासुको अनुगमन पछि औषधीको अनुगमन गरिरहेको उनले बताए । सबै क्षेत्रमा पालै पालो अनुगमन गर्ने कार्यलाई अघि बढाउने उनको भनाई थियो । ‘अहिले सुझाब दिदै कमीकमजोरी सच्याउन भनिरहेका छौ, सच्चिएन भने अर्को पटक कानुनी कारबाहीको दायरा पनि ल्याउछौ,’उनले भने ।








































































