उदयपुर: उदयपुरको कटारी नगरपालिका ८ घुम्ती शिरिसेमा बुधबार बिहान ३ वटा घरमा आगलागी भएको छ । आगलागीबाट करिब ८ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
बिहान करिब साढे ३ बजेको समयमा सोही स्थानका कृष्णलाल श्रेष्ठको फूसको छाना भएको एकतले घरमा आगो लागेको थियो । आगोले नगद १५ हजार, किराना सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित ४ लाख मूल्य बराबरको क्षति भएको परिवारले जनाएको छ ।
त्यसैगरी दिलबहादुर श्रेष्ठको फूसको छाना भएको एकतले घर र काठपातसहित करिब एकलाख मूल्य बराबरको क्षति भएको छ भने मकर बहादुर श्रेष्ठको फूसको छाना भएको एकतले घर, नगद ३ हजार, लत्ताकपडा, भाँडावर्तन र अन्नपातसहित करिब ३ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएको र दमकल ,स्थानीयवासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरी कार्यालयले बताएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
झापामा १५ लाख बराबरको क्षति
झापाको कमल गाउँपालिका ७ बस्ने मान बहादुर खड्काको टिनको छानो भएको काठको बेरा लगाएको २ तले घरमा पनि आगलागी भएको छ । आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
बिहान करिब सवा ७ बजे खोले पकाउने क्रममा अचानक आगलागी हुँदा खड्काको २ वटा घर, १ तले गोठ, काठपात, पराल, धान र लत्ताकपडा जलेर नष्ट भएको छ । उक्त आगो दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान साढे ९ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।








































































