भैरहवा ग्लाडिएर्टस र ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको दिन आज विराटनगर वारियर्स र काठमाडौ किंग्स एलेवेनले हारको स्वाद चाखेका छन् । जितपछि ललितपुर र भैरहवा प्रतियोगिताको प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएका छन् । भैरहवाले विराटनगरलाई ४ तथा ललितपुरले काठमाडौंलाई १० विकेटले हरायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय १० रनको लक्ष्य पच्छ्राएको ललितपुरले १० दशमलव ३ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
ललितपुरका गौरव तोमर ८० र जयकिशन कोल्सावाला २७ रनमा नटआउट रहे । तोमरले ५ छक्का र ९ चौका प्रहार गरे । यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं किग्सं एलेवेनले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ९ रन जोड्यो । केभिन ओ ब्रायनले ४२ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए । अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । ललितपुरका पवन सर्राफले ३ तथा रसिद खान र योगेन्द्र सिंह कार्कीले २र२ विकेट लिए ।
आजै भएको पहिलो खेलमा विराटनगरले दिएको ९२ रनको झिनो लक्ष्य भैरहवाले खेलसकिन २ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । रायन टेन डेस्कटले २० र कप्तान शरद भेषावकरले १६ रन जोडे । यसअघि पहिले ब्याटिङ गरेको विराटनगर निर्धा्रित २० ओभरको खेल सकिनु ८ बल अगावै ९१ रनमा अलआउट भयो । रोईलोफ भान डेर मर्वीले २५ रन बनाएको ईनिङसमा करण केसीले १८ र सुमित महर्जनले १५ रन जोडे । भैरहवाका महम्मद नाभिदले ४ तथा अभिनाश बोहोरा र कृष्ण कार्कीले २–२ विकेट लिए ।








































































