धरान : युएई स्थित युनाइटेड फुटबल क्लबको आयोजना, युएई नेपाली फुटबल सङ्घ एन्फाको संयोजनमा शनिवार भएको दोस्रो बुढासुब्बा कप २०२६ फुटबल प्रतियोगिताको उपाधि नखिल गोर्खा एफसीले कब्जा गरेको छ ।
नखिल दोस्रो पटक पनि प्रतियोगिता जितेर च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि युएई नेपाली फुटबल सङ्घका संस्थापक मुक्ति गुरुङले गरेका थिए । प्रतियोगितामा २२ टिम सहभागी थिए।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लमजुङ एफसीले कञ्चनजङ्घा एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा नखिल गोर्खा एफसीले गोर्खाली एफसीलाई ३–१ ले हराउँदै फाइनलमा पुगेको थियो ।
रोमाञ्चक फाइनल खेलको आठौँ मिनेटमा नखिल गोर्खा एफसीले पहिलो गोल गर्दै अग्रता लियो । १३औँ मिनेटमा लमजुङ एफसीका रोशन तामाङले गोल फर्काउन बराबरी बनाए ।
१८औँ मिनेटमा पुनः निखिलले गोल गर्दै २–१ को अग्रता बनायो । लगत्तै २१ औँ मिनेटमा लमजुङ एफसीले गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा पुर्यायो ।
निर्धारित समय बराबरीमा खेल टाइब्रेकरमा धकेलियो । ट्राइब्रेकरमा पनि खेल बराबरी भएपछि हेड–टु–हेड सुट आउटमा लमजुङ एफसीको बल बारमा लागेर बाहिरियो भने नखिल गोर्खा एफसीको प्रहार गोल भएपछि उपाधि कब्जा गर्न सफल भएको हो ।
विजेता नखिल गोर्खा एफसीले प्रतियोगिताको उपाधिसँगै नगद ४६६६ दिराम प्राप्त गरेको छ । उपविजेता लमजुङ एफसीले २६६६ दिराममा चित्त बुझाउनु परेको थियो ।
प्रतियोगितामा व्यक्तिगत पुरस्कार विजेताहरूमा सर्वोत्कृष्ट खेलाडी सुदिल राई नखिल गोर्खा, नगद २०० दिराम, उत्कृष्ट डिफेन्डर सालिन तामाङ नगद १०० दिराम, उच्च गोलकर्ता अर्जुन गुरुङ नगद १०० दिराम, उत्कृष्ट मिडफिल्डर रोशन तामाङ नगद १०० दिराम, उत्कृष्ट प्रशिक्षक मञ्जिल गुरुङ नगद १०० दिराम उत्कृष्ट व्यवस्थापक नरेश रिमाल नगद १०० दिराम रहेका छन् ।
समापन कार्यक्रममा पुरस्कार तथा सम्मान प्रमुख अतिथि मुक्ति गुरुङ, निराजन सिलवाल, लोक श्रेष्ठ, दुर्गा ढकाल, आयोजक समितिका अध्यक्ष ईश्वर श्रेष्ठ, कार्यक्रम संयोजक स्वीकार राईज्यूले विजेता, उपविजेता तथा निर्णायक रेफरीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवनी प्रसाद तिमिल्सिना, गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष मनोज कुमार श्रेष्ठ, नेपाली प्रवासी विभाग युएईका प्रमुख सुजन थापा, धरान हेल्पिङ ह्यान्ड्सका संरक्षक सुधीर थापा उपस्थित थिए ।
साथै एनआरएनएका पूर्व मध्यपूर्व युवा संयोजक निराजन सिलवाल, युएई नेपाली फुटबल सङ्घका अध्यक्ष अनिल शेर्पा, धरान हेल्पिङ ह्यान्ड्सका अध्यक्ष अनुप तामाङ, शोम तामाङ, अजय काफ्ले, दुर्गा ढकाल, कुल लेप्चा, मानध्वज आले लगायत सहभागी थिए ।









































































