ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “मेयरको मनपरी ”शीर्षकको सिराहको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । सिराह नगरपालिकाका मेयर गङ्गा पासवानले उच्च अदालतको पनि आदेश मानेनन् । मेयरको मनपरीका कारण कर्जन्हा नगरपालिकाको  केन्द्र विवाद भएको स्थानीयको आरोप छ । दैनिक तथा प्रशासनिक कामकाज समेत सरल सहज रुपमा हुन नसकेको भन्दै स्थानीयले आक्रोश पोखेको छ । मेयर गङ्गा पासवान र उप –मेयर ज्ञानकुमारी श्रेष्ठकीच बढेको विवादको गाँठो झनै बाँधिएको छ । मेयर पासवानले आफूखुसी सबै विकास निर्माण तथा निर्णयका काम गर्ने गरेको उपमेयर श्रेष्ठको आरोप छ । स्टाफमात्र होइन मसलन्द पनि दिइएको छैन । उपमेयर श्रेष्ठले भनिन् । त्यसै गरी ब्लाष्ट टाइम्स दैनिकले “शङ्कास्पद गोदाममा प्रशासनको छापा” शीर्षकको समाचारलाई पनि छापेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीको आदेशमा आन्तरीक राजस्व कार्यालय भद्रपुर नेतृत्वको टोलीले गोदाम  राखेर अवैध कारोबार गरेको आशङ्कामा सन्जीव घोषको बजरङ्बली अर्डर एण्ड सप्लायर्सको गोदाममा छानबिन शुरु गरेको हो । गोदाममा रहेको सत्र प्रकारका कपडाको छानबिन भइरहेको आन्तरीक आन्तरिक राजस्व अधिकृत पेशल न्यौपानेले बताए ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “च्याउले परिवारै सिकिस्त” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । जंगलमा उम्रको जुनसुकै च्याउ खान हुँदैन , त्यस्ता च्याउ खाँदा मृत्यु भएको, गम्भीर बिरामी परेको समाचारहरु बेला बेला सञ्चार माध्यममा आइरहेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा इटहरी २ पानिपियामा एकै परिवारका १२ जना मानिस बिरामी परेको छन् । तरहरा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक लेखेन्द्र बस्नेतका अनुसार शुक्रबार जंगल गएको बेला गोबरमाथि पलाएको च्याउ टिपेर घर ल्याएपछि खानासँगै तरकारीका रुपमा खाँदा बिरामी भएको हो । च्याले शिकिस्त विरामी परेपछि परिवारको धरान स्थीत वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “पूर्वमा सुरक्षा चुनौती बढ्यो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आतंकवादी एवं विखण्डनवादी शक्तिहरुले १ नम्बर प्रदेशमा विस्तारै शिर उठाउन थालेका छन् । १ नम्बर प्रदेशमा सुरक्षा चुनौती नरहेको प्रहरीले दावी गरे पनि विहिबार सुनसरीको हरिनगरा गाउँपालिकामा दिउँसै अज्ञात समुहले गोली हानेर स्थानीय एक व्यक्ति मौलाना खुर्सीद अन्सारीको हत्या गरी फरार हुनु र अपराधी पक्राउ नपर्नुले भित्रभित्रै अपराधीहरु सल्बलाइरहेको प्रष्ट हुन्छ । प्रदेशका मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विहिबार मोरङ जिल्ला प्रहरीको एक कार्यालयमा प्रदेशका जनतालाई सुशासनको अनुभूति दिलाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाइने भनी भाषण गरेको केही समयभित्रै सुनसरीको मौलाना खुर्सीद अन्सारीको हत्या भएको थियो ।

 

विवेचना दैनिक : आज झापाबाट प्रकाशित हुने विवेचना दैनिकले “ पर्यटन प्रबद्र्धन गर्न नेपाल र भारतबीच सम्झौता” शीर्षको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।  दुई देशमा पर्यटन प्रबद्र्धन लागि नेपाल र भारतका पर्यटन व्यवसायी संस्थाबीच सम्झौता भएको छ । शुक्रबार भारतको सिलिगुडीमा दुई देशको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र पर्यटकहरुको सुविधाका लागि संयुक्त रुपमा काम गर्ने लगायत १३ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै सो सम्झौता भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र भारतको तर्फबाट इस्टर्न हिमालय ट्राभल्स एन्ड टुर एसोसिएसन (इथ्वा) का प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा दुई देशीय कार्यक्रम गर्दा संयुक्त रुपमा आयोजना गर्ने, दुबैतर्फका प्रतिनिधि रहने गरी ५ देखी ७ सदस्यीय बोर्ड गठन गर्ने, दुई देशका पर्यटकहरुको सुविधाका लागि संयुक्त रुपमा काम गर्ने लगायतका विषयहरु समावेश गरिएको नाट्टा प्रदेश १ का महासचिव नवराज खरेलले बताए । सहमतिपत्रमा नेपालका तर्फबाट अध्यक्ष भुपालराज श्रेष्ठसहित महासचिव खरेल र भारतका तर्फबाट इथ्वाका अध्यक्ष देवाशिष मैत्रा र महासचिव सन्दिपन घोषले हस्ताक्षर गरेका छन् । यो सम्झोतासँगै नेपालका पर्यटकीय र धार्मिक स्थलको अवलोकनका लागि भारतीय र भारतको बाटो भएर आउने पर्यटकको संख्या बढ्ने नाट्टाका १ नम्बर प्रदेश अध्यक्ष श्रेष्ठले बताए । ‘नेपालमा चाहेर पनि नजिकै रहेको भारतबाट नै सोचेजति पर्यटक आउन सकेका छैनन्, अब सम्झौतापछि दुबै देशका व्यवसायी बसेर बिभिन्न कार्यक्रम बनाई प्रचार गरेपछि नेपालमा पर्यटको संख्यामा वृद्धि हुन्छ भने भारतमा पनि नेपाली पर्यटक उतिकै जानेछन्’, महासचिव खरेलले भने । उनका अनुसार दुई देशका व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना बनाएर अब दुबै देशमा काम गर्नेछन् । यो सम्झौताले १ नम्बर प्रदेशलाई अझै फाइदा पुग्ने खरेलको भनाइ छ । ‘प्रदेश १ मा अथाह प्राकृतिक क्षेत्र, पर्यटकीय र धार्मिक क्षेत्र छन्, यसको प्रचार र प्रवद्र्धनको योजना नहुँदा धेरै पर्यटक काठमाडौँ र जनकपुर पुग्छन्, अब हाम्रो योजनामा प्रदेश १ का पर्यटकीय र धार्मिक क्षेत्र पनि पर्छ, यसले प्रदेश १ लाई धेरै फाइदा पुग्छ’, । खरेलले भने ।