धरान: युवा संघ नेपालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोगचलन गर्न पाएको जग्गा डिपोट हाईस्कुलले भाडामा लगाउन नहुने बताएको छ ।

संघको धरान उपमहानगरपालिका कमिटि र १ नं क्षेत्रीय कमिटिले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै डिपोटले लिजमा दिएको जग्गामा फनपार्क बन्दै गरेको समाचार आएको बिषयमा गम्भीर चासो र आपत्तिसमेत प्रकट गरेको छ । क्षेत्रीय अध्यक्ष विनोद राई र नगर अध्यक्ष राजेन्द्र राईद्धारा जारी विज्ञप्तीमा धरानमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने फनपार्क स्थापना हुनु सकरात्मक भएपनि विद्यालय र अस्पतालसँगै टासेर बनाउदा त्यसले पार्ने अल्पकालिन र दीर्घकालीन असरबारे पनि सोच्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘यस्ता पार्कहरु निर्माण गर्दा कस्तो क्षेत्रमा स्थापना गर्ने ? स्थापना भइसकेका पार्कहरुले त्यस क्षेत्रमा के कस्ता असरहरु पुरर्याउछन् ? के पार्क जस्तो कुरा बिद्यालय र हस्पिटलसंगै टासेर बनाउन उपयुक्त हुन्छ ? त्यसको अल्पकालिन तथा दिर्घकालिन असरका बारेमा सोच्नु पर्दैन ?’ विज्ञप्तीमा बिपीको १२ औं सिनेट बैठकको निर्णयअनुसार र २०६२ असार २ गतेको मन्त्रीपरिषद निर्णयअनुसार डिपोले बिपीको भोगचलन गर्दै आएको जग्गा भोगाधिकार गर्न मात्र दिइएको उल्लेख छ ।

45648992_2273770092902312_6597555222514499584_n copy


सम्झौतामा पनि भोगचलन गर्दै आएको जग्गा भाडामा दिन मिल्ने भन्ने कही कतै उल्लेख नभएको र मात्र विद्यालयलाई भोगचलन गर्न पाएको जग्गाको अधिकार अरुलाई दिन नहुने विज्ञप्तीमा जनाइएको छ । ‘त्यसकारण बिद्यालयले केवल भोग चलन गर्न पाएको अधिकार अरुमा बितरण गर्न नहुने कुरामा हामी ढृड छौ,’विज्ञप्तीमा भनिएको छ,‘बि स २०७३ फागुन ११ गते बिद्यालयको जग्गा अन्यत्र पयोग गर्न नपाइने भन्दै सर्बोच्च अदालतले फैसला गरेको छ । सम्मानित अदालतको फैसलालाइ समेत खिल्ली उडाउदै डिपो बिद्यालयले गरेको उक्त निर्णय तुरुन्त बदर गर्न बिद्यालय प्रशासनसंग जोडदार माग गर्दछ ।’

सरकारले बिपीको नाममा भएको जग्गामध्ये १३ बिघा बढी डिपोटलाई भोगाधिकार दिएको थियो । त्यसमध्ये ३ बिघा जग्गा डिपोटले इजी राइडर ग्रुप बिजनेश प्रालिलाई ३० बर्षको लागि लिजमा दिएको थियो । गत बर्ष नै सम्झौता भएपनि दशैं अघि मात्र इजी राइडरले फनपार्क बनाउन थालेको थियो । बिपी र जिल्ला प्रशासन कार्यालयले भोगाधिकार मात्र पाएको जग्गा सरकार वा बिपीको स्वीकृति विना अन्य प्रयोजनमा डिपोटले प्रयोग गर्न नपाउने भन्दै फनपार्क निर्माण रोके पनि इजी राइडरले जिल्ला अदालतबा स्टे अर्डर लिएर धमाधम काम थालेको छ । तर, डिपोट स्कुल नजिकै र बिपीको कम्पाउण्ड भित्रको जग्गामा फनपार्कको नाममा मेला जस्तै संरचनाहरु निर्माण हुन थालेपछि भने विवाद र विरोध शुर भएको हो ।