धरान: शनिबार राती करिब १० बजेतिर इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको एक टोली सर्दु खोला पार गर्दै धरान वडा नं २० भञ्ज्याङ(साविक विष्णुपादुकय गाविस) तिर उकालियो । प्रहरीको तार्गेट थियो, भञ्ज्याङमा ट्रयाप अर्थात पासो थाप्ने ।

धनकुटाको आहाले हुदै गाँजा तस्करी हुने गरेको आशंका प्रहरीलाई थियो । केही समयअघि धनकुटामा व्यापाक गाँजाको बोट प्रहरीले नष्ट गरेको थियो । तर,पनि धनकुटाको आहाले, छिन्ताङतिर अत्यधिक गाँजा खेती हुनेगर्छ । प्रहरीले भञ्ज्याङमा मध्यरातमा सरप्राइज चेकिङ बसिरहदा शनिबार करिब १० बजे एउटा मोटरसाइकल आयो । परैबाट प्रहरी देखेपछि चालक हत्तपत्त मोटरसाइकल छोडेर भाग्यो, तर पछाडि सवार व्यक्ति भने उम्कन सकेनन् । प्रहरीको पासोमा परिहाले ।

प्रहरीले खानतलासी गर्दा उनले बोकेको २ वटा झोलाबाट गाँजा वरादम भयो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मेदनीप्रसाद साहका अनुसार पक्राउ परेका व्यक्ति साँगुरीगढी गाउँपालिका ९ का ३३ बर्षीय विष्णु राई रहेका छन् । उनको साथमा रहेको झोलाबाट १ किलो प्याकेज बनाइएको १२ वटा गाँजाको प्याक वरादम भएको छ । ‘गाँजाको प्याकेट बनाइएको रहेछ, १२ वटा थियो । विराटनगर लैजादै गरेको भन्ने प्रारम्भिक वयानबाट खुलेको छ,’उनले भने । प्रहरीले को ३० प ७३५५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर राखेको छ । कारोबारमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

S5780024 copy