धरान : मोहीलाई अघि सारेर पुर्वको प्रतिष्ठित शैक्षिक संस्थामा गनिने महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न भुमाफियाहरु सक्रिय भएको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् ।

क्याम्पस बचाउ संघर्ष समितिको अगुवाईमा बुधबार विद्यार्थीहरुले सडक आन्दोलन गरेका हुन् । क्याम्पसबाट शुरु भएको विरोध र्याली धरान उपमहानगरपालिकामा पुगेको थियो । नाराबाजी गर्दै पुगेका विद्यार्थीहरुले कार्यवाहक मेयर नरेश इवारम र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेललाई ज्ञापन पत्र पनि बुझाएका थिए । विद्यार्थीहरुले भुमाफिया मुर्दावाद, स्थानीय सरकार होसियार, नक्कली मोही हुदैन, क्याम्पसको जग्गा दिदैनौलगायत नारा लगाएका थिए ।

47687497_372484956648342_338245545191538688_n

ब्यानर र प्ले कार्डसहित र्याली निकालेका विद्यार्थीहरुले भानुचोकमा पुगेर कोणसभा पनि गरेका थिए । २०३४ सालमा क्याम्पसले जग्गा खरीद गर्नुअघि नै भोगचलन गर्न छोडिसकेको जग्गामा अहिले ४१ बर्षपछि भुमाफियाको चलखेलमा हकदाबी गर्न आएको भन्दै विद्यार्थीहरुले चर्को विरोध जनाएका छन् । मोही हकको लागि कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको ठाडो निर्देशनमा वडा नं ११ ले पनि नामसारी सिफारिश गरिदिएकोप्रति विद्यार्थीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । ‘भोगचलन नभएको थाह हुदाहुदै पनि कार्यवाहक प्रमुखको ठाडो निर्देशनमा वडा कार्यालयले मोही हक नामसारीको सिफारिश दिएकोप्रति कडा निन्दा र भत्सर्ना गछौ,’ज्ञापन पत्र बुझाउदै संघर्ष समितिका सचिव दोर्ची शेर्पाले भने ।

संघर्ष समितिका संयोजक एवं क्याम्पस स्ववियु सभापति सरगम सागर चेम्जोङले पनि क्याम्पसले जग्गा खरीद गर्नुअघि नै मोही लगतमा नाम भएका डम्बरबहादुर घिमिरे र उनको परिवारले जोतभोग गर्न छोडेको र क्याम्पसले विभिन्न संरचनाहरु बनाएको बताए । अहिले भुमाफियाको चलखेलमा अनुचित आर्थिक लाभ लिने प्रयास स्वरुप मोही हक खोज्ने काम भएको उनले बताए । ‘धरानकै पुरानो शैक्षिक इतिहास बोकेको क्याम्पसको सम्पत्ति सबै धरानेहरुको हो, राष्ट्रको सम्पत्ति हो । यसको सुरक्षा गर्न हामी जस्तो सुकै कडा आन्दोलन गर्न पनि तयार छौ,’संयोजक चेम्जोङले भने । चार दशकसम्म कसैले पनि खोजी एवं दाबी नगरेको धरान ११ स्थित स्वास्तिक चोकमा रहेको क्याम्पसको जग्गामा वास्तविक मोही डम्बरबहादुर घिमिरेका माइला छोरा यज्ञबहादुरले मोही हक दाबी गरेका छन् । मोही हक यज्ञबहादुरले दाबी गरेपनि करोडौंको जमिन हत्याउन पर्दापछाडि भुमाफियाहरुको चलखेल रहेको छ । वास्तविक मोही डम्बरबहादुर र उनकी श्रीमति मृत्यु भइसकेको छ भने जेठा छोराको पनि निधन भइसकेको छ । डम्बरबहादुरका माइला छोरा यज्ञबहादुरले गत कार्तिक १५ गते आफु हकवाला भएकोले मोही नामसारी गर्न वडा नं ११ कार्यालयमा निवेदन दिएका थिए ।

48368038_941121862943003_1609302281348448256_n

वडा कार्यालयले पनि क्याम्पसको उपस्थिति विना सर्जमिन मुचुल्का गरेर सिफारिश दिएपछि चर्को आलोचना खेपिरहेको छ । क्याम्पसले २०३४ साल असार २ मा श्यामगोविन्द श्रेष्ठको नाममा भएको धरान ११, पानीटंकी(स्वास्तिका चोक)मा १७ कट्ठा १८ धुर जमिन किनेको थियो । साविक धरान ९(क) को कित्ता नं २६६ को उक्त जग्गामा मोही डम्बरबहादुर घिमिरेको नाम उल्लेख थियो । तर, उक्त जग्गा क्याम्पसले खरीद गर्नुअघि नै घिमिरेले जग्गा जोतभोग गर्न छाडेको र क्याम्पसले लिएपछि पनि घिमिरे परिवारले जोतभोग नगरेको र कुत पनि नबुझाएको कारण मोही हकदाबी गर्न नमिल्ने क्याम्पस प्रशासनले दाबी गर्दै आएको छ ।