धरान: किरात राई यायोक्खाले ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, एक नम्बर प्रदेश ‘किरात’ प्रदेश समग्र देशबासीको आह्वान’ भन्ने मूल नारासहित १० औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

यायोक्खाले बिहिबार पत्रकार सम्मेलन गर्दै धरानमा शनिबारदेखि शुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । तीन दिनसम्म चल्ने महाविधिवेशनको प्रचार–प्रसारदेखि सबै तयारी पूरा भएको केन्द्रीय उपाध्यक्ष दिवश राईले बताए । ‘१० औं राष्ट्रिय महाधिवेशनको लगभग सम्पूर्ण तयारी पूरा भएको छ,’उनले भने,‘प्रचारको क्रममा हामीले पूर्वका विभिन्न जिल्लाहरुमा भित्तलेखनदेखि प्रबेशद्वारहरुमा ठुलो–ठुलो स्वागत गेटहरु निर्माण गदैछौं, विभिन्न पर्चा पमप्लेटहरु वितरण गदैछौं ।’

धरानको भानुचोकमा हुने उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । प्रदेश १ को सम्पूर्ण ध्यान केन्द्रीत हुनेगरी एक लाख भन्दा बढीको सहभागीतामा उद्घाटन गरिने यायोक्खाले जनाएको छ । उद्घाटनमा विभिन्न जातजातीको झाँकी, ¥याली, भेषभुषा बाजागाजासहितको ¥याली पनि हुने उपाध्यक्ष राईले बताए ।

महाधिवेशनमा २६ जिल्ला कार्यसमिति, २८ भाषिक तथा थरगत संस्था, भातृ संगठनसहित भारत, हङकङ, बेलायत, अमेरीका, अष्ट्रिेलिया, जापान, क्यानाडा, कतार, मेलेसियालगायत (१७ वटा विदेश शाखा)बाट १ हजार भन्दा बढी प्रतिनिधि पर्यबेक्षकको सहभागीता रहने आयोजकले जनाएको छ । धरानमा यायोक्खाको यो तेस्रो पटक महाधिवेशन हुन लागेको हो ।

किरात प्रदेश मुख्य एजेण्डा

yayokha

प्रदेश १ को नामाकरण ‘किरात’ हुनुपर्छ भनेर दबाबरुपमा महाधिवेशनको प्रचार गरेको यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बताए । ‘अहिले प्रदेशसभामा हिउँदे अधिवेशन चलिरहेको छ, त्यसको लागि प्रदेश १ को नामाकरण तथ्यको आधारमा किरात राख्नको लागि दबाबमुलक ढंगबाट प्रचार गदै महाधिवेशनको तयारी गर्यौ,’उनले भने,‘महाधिवेशन पनि गर्ने र किरातको विषयमा प्रदेश सरकारलाई दबाब पनि दिइरहेका छौं ।’

यायोक्खाले छैठौं राष्ट्रिय महाधिवेशनदेखि नै पुर्वमा किरात प्रदेशको माग गरेको भन्दै उनले महाधिवेशनको मुख्य एजेण्डा पनि यही हुने बताए । ‘हाम्रो १० औं महाधिवेशनको मुख्य एजेण्डा पनि यही हो,’उनले भने । प्रदेशको नामाकरण पेचिलो भइरहेको अवस्थामा अन्य पहिचानबादी शक्तिहरुसंग पनि छलफल भइरहेको उनको भनाई थियो । ‘हामीले आफ्ना कुराहरु राखिरहदा खेरी अरुको पहिचानको कुरालाई विरोध गर्नु त भएन नी,’उनले भने,‘तर, भोली गएर कोशी, सगरमाथा आयो भने त्यसले पहिचान खुल्दैन,त्यसैले किरातमा त्यति धेरै विवाद नहोला ।’

तथ्यहरु केलाउदा किरात प्रदेश राख्नुको विकल्प नभएकोले सरोकारवाला, विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुसंग प्रदेश १ लाई किरात नामाकरण गर्नको लागि अनुरोध गरिने समेत अध्यक्ष राईले बताए । किरात प्रदेश नामाकरण नगरिए चरणबद्ध आन्दोलनको घोषणा पनि महाधिवेशनले गर्ने अध्यक्ष राईको भनाई थियो । ‘किरात प्रदेश घोषणा भएन भने हामी विशिष्ट खालको आन्दोलनको घोषणा गछौं’ उनले भने ‘कस्तो खालको आन्दोलन भन्ने समयले नै बताउछ’ ।