धरान: धरान १२, चतरालाइनस्थित पब्लिक उच्च माध्यमिक विद्यालयलाई स्कुल बस खरीद गर्न भूतपूर्व विद्यार्थीहरुले पनि सहयोग गरेका छन् ।

विद्यालयले आफ्नो सेवा सुविधा वृद्धि गर्नको लागि स्कुल बस खरीद गर्ने योजना बनाएको छ । विद्यालयको उक्त योजनामा २०५५ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले सहयोग गरेका हुन् । उक्त ब्याचका विद्यार्थी सराज श्रेष्ठले एक लाख रुपैया सहयोग गरेका हुन् । उनी हाल अस्ट्रेलियामा रियल स्टेटको व्यवसाय गरिरहेका छन् । पारिवारिक विदामा धरान आएको बेला उनले विद्यालयको योजनाबाट प्रभावित भएर सहयोग गरेका हुन् । विद्यालयले स्कुल बस संचालन गरेर धरान वरपर रहेका विद्यार्थीहरुलाई सुविधा दिने सोच बनाएकोले त्यसबाट प्रभावित भएर सहयोग गरेको उनले बताए । उनले यो सहयोग रकम एसएलसी ब्याच – २०५५ को तर्फबाट प्रदान गरेका हुन् ।

देशबिदेशमा विभिन्न पेशा व्यवसाय गरी बसेका उक्त एसएलसी ब्याचका अन्य विद्यार्थीहरुलाइ पनि समेटेर सबैबाट सहयोग संकलन गरेर विद्यालयलाई थप आर्थिक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको सोही ब्याचका बिजय घिमिरेले बताए । आफुले अध्ययन गरेको विद्यालयमा आधुनिक सुविधाहरु उपलब्ध हुनु भूपू विद्यार्थीहरुको लागि पनि गौरवको क्षण भएकोले सबै साथीहरुसँग सम्पर्क गरेर अभियान शुरु गरेको उनले बताए ।

SchoolDonation_02

विद्यालयका प्रअ इन्द्र मोहन झाका अनुसार विद्यालयले २ वटा बस खरीद गर्ने योजना बनाएको छ । धरान (बजार क्षेत्र)सँगै पानबारी तथा पटनालीसम्मका विद्यार्थीहरुलाई बस सेवा प्रदान गर्ने योजना बनाएको प्रअ झाले जानकारी दिए । यो विद्यालय २००३ सालमा स्थापना भएको हो । विद्यालयमा भवन, बिज्ञान प्रयोगशाला, खेलकुद सामग्री, मैदान लगायतका सुविधा रहे पनि थप सुविधाको लागि स्कुल बस खरीदको पहल भएको विद्यालयले जनाएको छ । धरानमा हालसम्म निजी विद्यालयमा मात्र स्कुल बस सेवा रहेको छ । सरकारी तथा सामुदायिक विद्यालयमा पनि स्कुल बस सेवा भए अभिभावक तथा विद्यार्थीहरुमा सकरात्मक प्रभाव पर्ने प्रअ झाको भनाई छ । 'पश्चिममा हाम्रो विद्यार्थीहरु पटनाली, चतराबाट पनि आउछन् । पुर्वमा पानवारी, ठिंगाबारीबाट पनि आउछन्, अहिले उनीहरु अर्काको बसमा आउछन् । किन आफ्नै बस चलाएर सेवा नदिने भनेर योजना बनाएका छौ, सहयोग मागेरै भएपनि किन्छौ,'प्रअ झाले भने ।