धरान: आज दिउँसो करिब २ बजेतिर धरान १५ बगरकोटस्थित सिरक, डस्ना बनाउने उद्योगमा आगो लागेको थियो । आगलागी भएको थाह पाएपछि प्रहरी र उपमहानगरपालिकाको वारुण यन्त्र(दमकल)लाई खबर भयो ।

एउटा दमकल आगलागी भएको ठाउँमा पुगेर निभाउन थाल्यो । केही बेरमा पानी सकियो । अर्को दमकल बत्तासिदै बगरकोट पुग्यो,तर आगलागी भएको स्थानसम्म पुगेन । एम.एच.बिबिक्यु होटल अघि पुगेपछि त्यो दमकल त्यही थन्कियो । स्थानीयका अनुसार उक्त दमकलको सापट बिग्रेर झरेरपछि आगलागी नजिकै पुगेर पनि काम लागेन । ‘इर्मेजेन्सी गाडीहरु त अपटुडेट राख्नुपर्ने हो, धन्न ठुलो आगलागी भएन, यो त लापरवाही नै भयो नि,’स्थानीय एक व्यवसायीले भने ।

यातायात मजदुरहरुका अनुसार पुरानो गाडीको सापटको बल्टु झरिरहने समस्या हुन्छ । त्यसैले २, ३ दिनको अन्तरालमा चालकले सापट र बल्टुको अवस्था चेक गरिरहनुपर्ने हुन्छ । ‘२ वटा जोडिएको हुन्छ । गाडी स्पिड कुद्दा बल्टु झर्छ, र सापट पनि खस्न सक्छ, त्यसैले चालकले यसमा निक्कै ध्यान दिनुपर्छ । २, ३ दिनमा बल्टु कसिरहनुपर्छ,’यातायात मजदुर नेता कमल भटराईले भने ।

मेशिनबाटै फाइरिङ भएर आगलागी

bagarkot-agolagie0

बगरकोटका व्यवसायी हरि राईले सिरक, डस्ना उद्योग पनि चलाएका थिए । उनले हाल रिनोभेसन भएको एम.एच.बिबिक्यु दक्षिणमा सानो उद्योग नै चलाएका थिए । त्यहाँ उनको सिरक, डस्ना पेल्ने एउटा मेशिन थियो ।मेशिनमा एक जना नयाँ कामदार थिए । ती कामदारले काम सिक्दै थिए ।

आज दिउँसो सञ्चालक राई थिएनन् । काम सिक्दा सिक्दै कर्मचारीले मेशिन अन(खुला) नै छोडिदिएका थिए । मेशिन चलिरहदा फायरिङ भएर आगोको झिल्को निस्किएर रुवामा आगो टिपेपछि आगलागी शुरु भएको स्थानीय व्यवसायी तथा एमएच बिबिक्यूका प्रोपाइटर जीवन लिम्बूले जानकारी दिए । ‘फायरिङ भएर आगोको झिल्कोले रुवा टिप्यो र आगो लाग्यो । मेशिन र रुवा सबै नष्ट भएको छ,’उनले भने ।

तस्बिर: सनम तामाङ