धरान: यही जेष्ठ १८ गते साकेला उभौलीको समापनमा नेकपाका अध्यक्ष एबंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका छन् ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा धरान–१७ स्थित साकेला साँस्कृतिक पार्कमा हुने उभौली पर्व साकेलाको समापनमा नेता प्रचण्ड आउने भएका हुन् । यायोक्खाको निमन्त्रणामा नेता प्रचण्ड मुख्य बक्ताको रुपमा आउने भएका हुन् । किराया जिल्ला सुनसरी प्रचार प्रसार उप–समितिका संयोजक उपेन्द्र चाम्लिङका अनुसार प्रचण्डसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारीलगायतको सहभागिता रहने छ । ‘कार्यक्रममा प्रमुख अतिथी रुपमा प्रचण्ड ज्यू आउने तय भएको छ,’संयोजक चाम्लिङले भने,‘मुख्यमन्त्री, सभामुख र विशिष्ट व्याक्तिहरुलाई निमन्त्रणा गरेका छौं ।’

कार्यक्रममा करिब ४० हजार बढी मानिसहरुको सहभागीता रहने संयोजक चाम्लिङले बताए । कार्यक्रम विहान ११ बजेदेखि शुरु हुने जनाइएको छ । यायोक्खाले २०६४ सालदेखि उठाउदै आएको एक नम्बर प्रदेशको नामाकरण ‘किरात’लाई जोडदार रुपमा माग राखिने किराया सुनसरी जिल्ला अध्यक्ष बलराम राईले बताए । ‘यायोक्खाले २०६४ सालदेखि प्रदेश १ लाई ‘किरात’ नामाकरण गरियोस् भनेर माग राख्दै आएको छ, हामी जोडदार रुपमा उठाउछौं,’अध्यक्ष राईले भने,‘इतिहास, भुगोल र सम्भयताको आधारमा किरात नामाकरण हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

 

प्रचण्डले १० वर्षे जनयुद्धमा वर्गीय, जातीय, क्षेत्रीय आधारमा सबै जातजातिको समान अधिकारको लागि लडेको र यायोक्खाले पनि पहिचानको रुपमा किरातको मुद्दा उठाएकोले यसको सम्बोधनको लागि प्रचण्डको महत्वपूर्ण भुमिका रहने भएकोले कार्यक्रममा बोलाइएको अध्यक्ष राइले बताए । ‘प्रचण्डले १० वर्षे जनयुद्धमा बर्गीय, जातीय, क्षेत्रीय आधारमा सबै जातजातीको समान अधिकारको लागि लड्नु भएको थियो,’उनले भने,‘यायोक्खाले पनि पहिचानको आधारमा किरात प्रदेशको माग राख्दै आएको यसमा उहाँ सकारात्मक हुनुहुन्छ, त्यति मात्र हैन उहाँ मुलुकको ठुलो नेता पनि हो, त्यसैले यायोक्खा माग प्रति उहाँको महत्वपूर्ण भुमिका रहने भएकोले निमनत्रणा गरेका हौं ।’

साकेला सिली प्रतियोगिता हुने

साकेला उभौली समापनमा ‘किराया प्रकास स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रदर्शनी–२०७६’ प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगितामा जिल्ला भरीका प्रकासहरुले भाग लिने भएको हुन । प्रतियोगितामाको प्रथमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यसैगरी, दोस्रोले नगद १५ हजार र तेस्रोले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने प्रचार समिति उपसंयोजक चाम्लिङले बताए । यसैगरी अन्य विद्यामा धरान भित्र र धरानबाहीरको रुपमा प्रतिसपर्धा गराइने अध्यक्ष राईले बताए । उनका अनुसार उत्कृष्ट कार्यक्रम व्यावस्थापन, उत्कृष्ट भेषभुषा, उत्कृष्ट सास्कृतिक सामग्री र उत्कृष्ट सहभागीमा प्रतिस्पर्धा गर्नेछन् । विजेता प्रथम, दोस्रो र तेस्रोले क्रममा नगद ६ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसैगरी, धेरै ठाउँमा सहभागी बन्ने प्राकासले नगद ६ हजार प्राप्त गर्नेछ ।