झापा : पछिल्लो समय लागुऔषध ब्राउन सुगरका कारोबारीहरु झापाको नाका हुदै नेपाल भित्र्याउन थालेका छन् । झापामा एक पछि अर्को ब्राउन सुगरका कारोबारीहरु पक्राउ परेको तथ्यांकाले यही देखाउछ ।

बुधबार पनि झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट बुधवार दिऊँसो पौन १ बजे खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको बेलवारी नगरपालिका ३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बु रहेका छन् । उनीहरुको साथबाट १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ । उनीहरु मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट पक्राउ परेका थिए ।

यसैगरी, सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे मेचीनगर नगरपालिका ७ गैह्रीगाउँबाट बेलवारी नगरपालिका ३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको । सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले राती साँढे ८ बजे बिर्तामोड नगरपालिका ५ बाट हल्दिवारी गाउँपालिका १ घर भई बिर्तामोड ४ बस्ने २६ बर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको मे ९ प ४८३२ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको जनाएको छ ।