धरान: नेपाल कम्युनिष्ट पाटी(नेकपा) को धरानमा हुने चुनावी आमसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

मंसिर १४ गतेको उपनिर्वाचन लक्षित नेकपाको आमसभा धरानमा मंसिर ११ गते भानुचोकमा हुने भएको हो । नेकपाको निर्वाचन परिचालन कमिटी संयोजक रमेशकुमार बस्नेतले विशाल आमसभामा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जानकारी दिएका हुन् । बस्नेतका अनुसार प्रचण्डले सम्बोधन गर्नेछन् भने जनगायक जीवी टुहुरे र शम्भु राईले सांगीतिक प्रस्तुती पनि दिनेछन् । जनप्रतिनिधिहरुसँगको बैठकमा बस्नेतले नेकपा उम्मेदवार प्रकाश राईलाई जिताउन निर्देशन पनि दिएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले चुनाव युद्ध भएकोले युद्धमा होमिन निर्देशन दिएका थिए ।

विद्यार्थी केन्द्रीय नेताहरु पनि चुनावमा होमिए

nekapa-student

आगामी मंसिर १४ को निर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राईलाई जिताउन नेकपाका केन्द्रीय नेताहरुसँगै अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ धरान आएका छन् । अनेरास्ववियू प्रदेश नम्वर १ को शुक्रबार वृहत कार्यकर्ता भेला धरानमा भएको थियो । भेलालाई सम्बोधन गर्न नेकपाका केन्द्रीय सदस्य तथा विद्यार्थी इञ्चार्ज विनोद ढकाल र विद्यार्थीको संयोजक महरसहितको टिम धरान आएको हो ।

भेलालाई सम्बोधन गर्दै नेता ढकालले दुई पार्टी एकीकरण भएको अवस्थामा नेकपाले जित मात्र नभै ठुलो मतान्तरको जित हासिल गर्नुपर्ने बताए । उनले ३ तहमा नै नेकपा सरकार भएकोले सरकारले गरेको राम्रा काम र उपलब्धीहरुलाई जनता माझमा पुर्याउन पनि निर्देशन दिएका थिए । अनेरास्ववियूका केन्द्रिय सहसंयोजक रञ्जित तामाङले कांग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निभाउन नसकेको आरोप लगाउँदै रचनात्मक प्रतिपक्षको भुमिका निर्वाहको लागि धरानमा तयार रहन सुझाव दिएका थिए ।

२३ युवा नेकपामा प्रवेश

शुक्रबार धरान–१६ स्थित नेकपाको घरदैलो कार्यक्रममा २३ जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । सिमनाचौकमा आयोजित कोणसभामा काँग्रेस पार्टी परित्याग गरी उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नेकपा नेता आइन्द विक्रम वेघाका अनुसार पार्टी प्रवेश गरेका युवाहरुलाई अविर, माला लगाएर स्वागत गर्दै उम्मेदवार प्रकाश राईले युवाह्ररुको समस्या र स्वरोजगारी सृर्जनाको लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यतm गरे ।