धनकुटा: धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ सानो सफाई का ५६ बर्षिय राम राई ठुलो परिणाममा गाँजासहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनी ६९ केजी गाँजासहित पक्राउ परेका हुन् । हिजो दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले राईलाई उनकै घरबाट गाँजासहित पक्राउ गरेको बताइएको छ । राईले अवैध लागुऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकका आधारमा उनको घरमा रितपूर्वक खानतलासी गर्दा घर भित्र लुकाइ राखेको गाँजा वरामद भएको हो ।

प्रहरीका अनुसार लुकाई राखेको ५१ केजी तयारी गाँजा फेला पारेको थियो भने उनैले वरपर बारीमा लुकाई छिपाई राखेको अवस्थामा थप १८ केजी गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बरामद गरिएको गाँजा र पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तस्बिर: फाइल फोटो