धरान : धरानका पूर्व मेयर ध्यानबहादुर राईको योगदानलाई सम्मान गर्न स्मृति ग्रन्थ प्रकाशन गरिने भएको छ । गत बुधबार धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा पूर्व मेयर स्व. ध्यानबहादुर राई स्मृति ग्रन्थ प्रकाशन तथा सालिक स्थापना अभियानका पदाधिकारीहरुसहितको बैठकले स्मृति ग्रन्थ प्रकाशन गर्ने सम्बन्धमा छलफल गरेको हो ।

बैठकमा सहभागीहरुले जानकारी दिए अनुसार बैठकमा अभियानका संयोजक महेश श्रेष्ठले स्मृति ग्रन्थ झारो टार्ने जस्तो हुनु नहुने भन्दै स्मृति ग्रन्थ व्यक्ति विशेषहरुको संस्मरणको संग्रह मात्रै हुनु नहुने, स्मृति ग्रन्थ इतिहास हुने भएकाले शोधग्रन्थ जस्तै हुनुपर्ने र भोलिका पीढीलाई मार्ग दर्शन गर्न सक्ने बनाउनुपर्ने बताएका थिए ।

त्यसैगरी उनले स्मृति ग्रन्थमा स्व. ध्यानबहादुर राईको जीवन र योगदानको विभिन्न कोणबाट प्रकाश पारिनु पर्ने, स्थानीय विद्यालयमा स्थानीय सरकारको इतिहास पढ्दा पाठ्य सामाग्री समेत हुनसक्ने बनाउनुपर्ने र स्मृति ग्रन्थमा विज्ञापन राख्न नहुने साथै स्मृति ग्रन्थका लागि लेख रचनाहरु नि: शुल्क संकलन गर्ने मात्रै होइन, विशेष विषयमा लेखनवृत्ति दिएर पनि लेख्न लगाइनुपर्ने तर्क गर्दै स्मृति ग्रन्थ कस्तो प्रकाशित गर्ने भन्ने बारेमा स्पष्ट निर्दे्शिका तयार गरिनुपर्ने आवश्यकता प्रष्टाए ।

बैठकमा मेयर राईले स्मृति ग्रन्थ प्रकाशनका लागि समिति गठन गर्नुपर्ने आवश्यकता ठहर गरेर समितिले प्रकाशनको जिम्मेवारी लिनुपर्ने प्रस्ताव गरेका थिए । स्व. ध्यानबहादुर राई स्मृति ग्रन्थ प्रकाशित गर्नुपर्नेमा बैठकमा एकमत भएपनि समिति गठनका लागि थप बैठक बस्नुपर्ने भन्दै बुधबार कुनै निर्णय नगरी बैठक स्थगित गरिएको थियोे र माघ २७ गते (सोमबार) पुनः बैठक बस्ने सहमति गरिएको थियोे । मेयर राईले स्मृति ग्रन्थ प्रकाशनका लागि उपमहानगरपालिका संरक्षक रहने समिति गठन गरौं र स्मृति ग्रन्थ कस्तो प्रकाशित गर्ने समितिले नै नीति निर्माण गरोस् भनेका थिए ।

उपमहानगरपालिकाको उक्त बैठकमा अभियानका संयोजक महेश श्रेष्ठ, सहसंयोजक शिव वान्तवा, सचिव विदुर पौडेल र सदस्यहरु शुभचन्द्र राई, विरेश थापा लगायतको सहभागिता रहेको थियोे ।