भद्रपुर : झापामा पढाउने क्रममा छ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले बुद्धशान्ति गाउँपालिका ६ बस्ने २१ वर्षीय नरेन थापालाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

६ जना छात्राका अभिभावकले संयुक्त रूपमा फागुन २ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन थापालाई पक्राउ गरिएको उनले बताए । शिक्षक थापामाथि मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । आरोपित थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन् । विद्यालयमा र ट्युसन पढाउने क्रममा शिक्षक थापाले छात्राहरू माथि यौन दुर्व्यवहार गर्दै आइरहेको उजुरी आएको डिएसपी कोइरालाले बताए । बाल यौन दुर्व्यवहार कसुरमा ६ जना पीडित परिवारले दिएको उजुरीका आधारमा अदालतबाट पाँच दिनको म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।