इटहरी : संविधान परिवर्तनशील दस्ताबेज रहेको बताउँदै पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक रूपमै राजतन्त्र पुनर्स्थापित बताएका छन् । संविधानलाई संशोधन गरेर जनताले नै राजतन्त्रलाई पुनर्स्थापित गराउने विश्वास थापाले व्यक्त गरेका हुन् ।

इटहरीमा प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम पछि पत्रकार सम्मेलनमा बोल्दै थापाले राजतन्त्र 'जस्केला' बाट नभई जनताले नै ल्याउने बताएका हुन् । कुनै विदेशी शक्तिबाट नभई जनताले चाडै लोकतान्त्रिक प्रक्रियाबाटै संवैधानिक राजतन्त्र ल्याउने आउने थापाको धारणा छ।

सरकारका पछिल्ला गतिविधिले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापित गर्न सहज भएको उनको धारणा छ । हिन्दुरास्ट्र नेपाललाई ठुला दलहरूले धर्म निरपेक्षतामा लगेर राज्यलाई धर्म परिवर्तनको डढेलोमा पारेको आरोप थापाले लगाए ।

'पहाड देखि तराइसम्म धर्म सखाप हुन लागेको छ, भ्रष्टाचारको चङ्गुलमा देश फसेको छ' थापाले भने  'सरकार  पछिल्लो राजनीतिक व्यवस्थाकै कारण राजतन्त्र पुनर्स्थापना हुन्छ ।'

अहिलेको सरकारमा राजा,धर्म,जनता कोही सँग पनि नडराउने व्यक्तिहरूले चलाएको कारण देशमा ब्रम्हलुट मुछिएको बताए । २०७७ जेष्ठमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भएपछि राप्रपा यति बेला स्थानीय तह देखि केन्द्रीय तह सम्म सक्रियता देखाउन थालेको देखिन्छ ।