धरान : धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा खाद्यान्न अभाव भएको छ ।

फुड बैंकमा अहिले ६० हजार किलो चामल मात्रै मौज्दात रहेको र अझै दोस्रो चरणको राहत वितरण गर्नका लागि २ लाख किलो चामल आवश्यक रहेको धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् । पहिलो चरणको राहत वितरण भइसकेको र अव २० हजार परिवारलाई राहत बाँड्ने तयारी भइरहेको बताइएको छ ।

राहत चाडै बाँड्नका लागि सहुलियत दरको चामल मिलहरूमा माग गरिसकिएको छ । फुड बैकमा मौज्दात रहेको ६० हजार किलो चामलमा अपुग चामल १ लाख ४० हजार किलो चामल आउने बित्तिकै दोस्रो चरणको राहत वितरण गरिने बताइएको छ । राहत वितरणमा दाल बजारमा नपाइएकोले न्युटेला वितरणको तयारी भइरहेको छ । खाने तेल भने फुड बैकले बजारमा पाएको छ ।

यसै गरी धरान उपमहानगरपालिकाले लकडाउनको बेला तरकारी ब्यावस्थापनलाई सहज बनाउने तयारी गरेको छ ।

धरान उपमहानगरमा तरकारीलाई सहज बनाउनका लागि धरान भित्र र पहाडी क्षेत्रबाट तरकारी आयात गरेर धरानमा तरकारीजन्य बस्तुमा सहजता कायम गर्ने तयारी भइरहेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

धरानमा दोस्रो चरणको राहत वितरणका लागि वैशाख १०,११ गते भित्रमा फुड बैकमा आवश्यक सामाग्रीहरूको जोहो गरेर राहत वितरणका लागि मार्ग प्रशस्त गर्ने बताउँदै मेयर राईले लकडाउनमा धरानको समस्यालाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा भोलि मङ्गलवार कार्यपालिकाको बैठक बस्ने तयारी भइरहेको बताए ।