इनरुवा :  सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको दमकल वर्षौँदेखि मर्मत सम्भार नभएका कारणले आगलागीका घटनामा करौडोको क्षति भएको भन्दै इनरुवाका महिलाहरूले बिग्रेको दमकल मर्मत र नयाँ दमकल खरिद गर्न भिक्षाटन सुरु गरेका छन् ।

मङ्गलवार महिलाहरूले सदरमुकाम इनरुवा १ को शान्ति चौकबाट प्रति व्यक्ति वा परिवारसङ पाँच रुपियाँका दरले साकेंतिक सहयोग स्वरूप भिक्षा माग गरेको महिला अगुवा कानुन अधिकारीले जानकारी दिइन् ।
नगर भरी सङ्कलन गरेको दुई कार्टुन रकम जस्ताको तस्तै इनरुवा नगरप्रमुख राजन मेहता र कार्यपालिकालाई बुझाएको अधिकारीले बताइन् ।

तीन दिन अघि मात्रै सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको मुख्य बजारमा भीषण आगलागी हुँदा नजिकमा दमकल भएर पनि काम लाग्ने अवस्थामा नभएकाले आगो नियन्त्रणमा समस्या भएको देखेर साकेंतिक दबाब र सहयोग स्वरूप भिक्षा माग्न सुरु गरेको अर्का महिला अगुवा तोया गिरीले बताइन् ।

गिरीका अनुसार इनरुवाको दमकल वर्ष दिन देखि बिग्रेको र मर्मत सम्भार नगरेको कारण इनरुवाका दर्जनौँ आगलागी नियन्त्रणमा समस्या भएको भन्दै आफू सहित महिलाहरूले साकेंतिक भिक्षाटन सुरु गरेको हो । महिला नेतृ तोया गिरी, कानुन अधिकारी सहितको अगुवाइमा सयौँ व्यक्तिको सहभागीतामा भिक्षाटन गरेको छ ।

भिक्षाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पु, नेता पोस्टकुमार नेपाल, रामप्रसाद मेहता, इनरुवा नगर अध्यक्ष तीर्थ अधिकारी, रमेश तिम्सिना सहितले समेत ५,५ रुपियाँ भिक्षाटनमा सहयोग गरे । सहयोग गर्नेहरूले छिटोभन्दा छिटो साकेंतिक सहयोगको दबाबमा दमकल ल्याउनुपर्ने र नयाँ अर्को दमकल समेत किन्नुपर्ने माग गरेका छन् ।

नगरपालिकाको एक करोड बढी रकम इन्धनमा खर्च हुने गरेको लाख रुपियाँ खर्च गरेर मर्मत हुने दमकल मर्मत सम्भार नगरेकाले नगर माहिलाहरूलाई दमकलका लागि भिक्षा माग्न बाध्य गरेको महिला अगुवा टिका आर्चायले बताइन ।

इनरुवा नगरपालिका गरिब भएकाले दमकल किन्न नसक्ने अवस्थामा पुगेकाले ५ रुपियाँ उठाउने अभियानमा लागेको आचार्यले बताइन् । दमकल किन्नका लागि भन्दै इनरुवाका स्वीपर, रिक्सा, ठेल्ला, सिटी सफारी चालक, जन मजदुरी गर्नेहरू, बाटो हिँड्ने बटुवा सहित उद्योगी व्यवसायी, शिक्षक, बुद्धिजीवी समेतले ५,५ रुपियाँ सहयोग गरेको अभियानमा सहभागी रमेश तिम्सिनाले जानकारी दिए ।