धरान : धरान उपमहानगरपालिकाको मङ्गलवार बसेको कार्यपालिका बैठक नेपाली काँग्रेसका वडाध्यक्षहरूको कारण भाँडिएको छ ।

बैठक तोकिएको समय भन्दा अलि ढिलो सुरु भएको थियो । बैठक सुरुमा नेपाली काँग्रेसका तर्फबाट विजयी भएका धरान १ का वडाध्यक्ष रोशन अधिकारीले नगरपालिकाले वडामा दिएको बजेटको सिलिङमा चित्त नबुझेको भन्दै सिलिङ च्यातेका कारण बैठक भाँडिएको हो । १ नम्बर वडाध्यक्ष रोशन अधिकारी, ५ नम्बर वडाध्यक्ष सन्तोष लिम्बु र १८ नम्बर वडाध्यक्ष प्रवीण राईले कार्यपालिका बैठकमा बजेटको सिलिङमा असहमति जनाउँदै सम्मानित कार्यपालिका बैठक भाँडेको नेकपाबाट विजयी वडाध्यक्षहरूले आरोप लगाएका छन् ।

भोलि हुने नगर सभाको पुर्वसन्ध्यामा धरान उपमहानगरपालिकाको नीति तथा बजेटको सिलिङ पास गर्ने गरी बसेको कार्यपालिका बैठकमा नेपाली काँग्रेस पक्षका वडाध्यक्षहरूले अपशब्द बोल्दै बैठक स्थलबाट बाहिरिएकोले नेकपा पक्षका वडाध्यक्षहरूले पनि बैठक कक्ष छोडेको ९ नम्बर वडाध्यक्ष रत्न कटुवालले कपुरी न्युजलाई बताए ।

नेकपा पक्षका वडाध्यक्षहरूले कार्यपालिका बैठकमा बुधवार हुने नगर सभामा प्रस्तुत गर्ने नीति तथा बजेटको सिलिङ पास गर्ने गरी बसेको कार्यपालिका बैठक भाँडिएको बारेमा नेकपाका नेताहरूलाई जानकारी दिन मङ्गलवार साँझ पार्टी कार्यालयमा भेला भएका थिए । उनीहरूले कार्यपालिका जस्तो बैठकमा नेपाली काँग्रेस पक्षका वडाध्यक्षहरूले अमर्यादित शब्द बोल्दै नगरप्रमुखले वितरण गरेको प्रस्तावित बजेटको सिलिङ च्यातिएको बारेमा मेयरले बैठक राम्रो सँग रुलिङ गर्न नसकेको र वडानं १, ५ र १८ का वडाध्यक्षले सार्वजानिकरुपमा लिखित माफी माग्नुपर्ने माग नेकपाका वडाध्यक्षहरूले गरेको वडाध्यक्ष कटुवालले बताए ।

बैठकमा नेपाली काँग्रेस पक्षका वडाध्यक्षहरूले भाँडेको आरोप बारे १ नम्बर वडाका वडाध्यक्ष रोशन अधिकारीसङ सोध्दा उनले भने “ बजेटको सिलिङमा मेरो असहमति हो, तर त्यस्तो साथीहरूले भने जस्तै अपशब्द र अमर्यादित भाषा नबोलेको बताए । यस्तै वडानं. १८ का वडाध्यक्ष प्रवीण राईले पनि यस पटक बजेट सिलिङ कम भएकोमा मेरो पनि असहमति हो भने ।

भोलि हुने नगर सभाको केही घण्टा अघि मात्रै बसेको कार्यपालिका बैठकमा यस्तो विवाद भएपछि अव धरान उपमहानगरपालिकाको बुधवार हुने नगर सभा अनिश्चित जस्तै भएको छ । नगर सभा आइसक्दा पनि वडाको बजेट सिलिङ वडाहरूलाई उपमहानगरपालिकाले नपठाएको सन्दर्भमा केही दिन देखि वडाध्यक्षहरू असन्तुष्ट थिए । त्यसका बाबजुद आज बसेको बैठक पनि केही निर्णय नगरी स्थगित भएकोले बुधवार बिहान फेरी अर्को कार्यपालिका बैठक बस्ने निर्णय गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

बिहान बस्ने कार्यपालिका बैठकले नगर सभामा लाने नीति तथा बजेटको सिलिङ पास गर्ने पनि बताए । आजको बैठकमा केही साथीहरूले आ आफ्नो धारणा राख्नेक्रममा सामान्य असहमति मात्रै भएको हो अरू केही भएको होइन मेयर राईले भने । तर नेकपा पक्षका वडाध्यक्षहरूले भने मेयर लगायत १,५ र १८ का वडाध्यक्ष सहित मेयरले लिखितरुपमा सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।