इटहरी : लामो समय देखी साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको इलाका प्रहरी कार्यालय इटहरीको नयाँ भवन निमार्ण हुने भएको छ ।

जग्गा अभावमा भवन निमार्ण हुन नसकेको इटहरी प्रहरीको भवन अब निमार्ण हुने भएको हो । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट नीति तथा कार्यक्रममा भवन निमार्णको लागी आवश्यक जग्गा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

बजेट नीति तथा कार्यक्रमको बुँदा नम्बर ३० को सुरक्षा व्यवस्थापन शीर्षकमा इलाका प्रहरी कार्यालय थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख छ । साथै सङ्घीय सरकार तथा प्रदेश सरकारबाट भवन निमार्ण सम्बन्धी कार्य स्वीकृत भएको इटहरी उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने कार्यक्रम घोषणा गरेको हो ।

विगत १० वर्ष देखी जग्गा खोजी रहेको इलाका प्रहरी कार्यालय इटहरीले अब जग्गा पाउने भएको छ । जग्गाकै अभावमा व्यवस्थित भवन बन्न नसकेको अवस्थामा अब नयाँ भवन बन्ने आशा पलाएको छ ।