धरान : भक्तजनहरू आउने क्रम नरोकिएपछि पिण्डेश्वर मन्दिरमा समस्या भएको छ ।

केही दिन अघि साउन महिनामा विगतमा लाग्दै आएको बोलबम मेला यस पटक कोरोनाका कारण जोखिम हुने भन्दै नलगाउने निर्णय भएको भए पनि पिण्डेश्वर बाबाधाममा दैनिक आउनेहरूले गर्दा समस्या भएको हो । मन्दिर परिसरमा आइपुगेका भक्तजनहरूलाई सम्झाई बुझाई गर्दा गर्दा हैरानी भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताए ।

तिथिले साउन महिनाको दोस्रो सोमबार भनिए पनि आज साउन महिनाको पहिलो सोमबार पिण्डेश्वर मन्दिरमा बिहानै देखि पूजा गर्न आउनेहरूको सङ्ख्या बाक्लै रहेको छ ।

कोरोनाको कारण यस पटक बोलबम मेला नलगाउने निर्णय गरिएको भए पनि टाढा टाढा सम्म सूचना नपुगेको र मन्दिरमा पूजा गर्न जानेहरूलाई बाटोमै नरोकिएकोले गर्दा मन्दिर परिसरमा भक्तजनहरूको भिड हुने गरेको बताइएको छ ।

अझ आज बिहान एक जना प्रहरी अधिकृत आफै पूजा गर्न भनेर मन्दिर आइपुगेका थिए । 'सर्वसाधारणको त के कुरा प्रहरीलाई समेत मन्दिर बन्द छ भनेर थाहा थिएन'  मन्दिर परिसरमा भेटिएका एक जनाले भने ।

पिण्डेश्वर मन्दिरमा आइपुगेपछि भक्तजनहरू पूजा गर्न जर्वजस्ती गर्ने र गेटमा पुगेर बाहिरबाटै कत्तिले पूजा गर्दै फर्किँदै छन् भने कत्तिको भने भित्र पूजा गरिदिन्छु भन्दै भित्र बस्ने साधु सन्तले भक्तजनहरूलाई गेटबाटै भेटी र फुल लगिदिने गरिरहेका छन् । यसो हुँदा मन्दिरमा झन् समस्या हुने गरेको छ । अझ मन्दिर भित्र बस्ने साधुहरूले मन्दिरको गेटको चाबी भएकोले उनीहरूले भित्रबाट खोलिदिने गरेकोले भक्तजनहरू मन्दिर भित्रै प्रवेश गर्ने गरेका छन् ।

बोलबम मेला नलगाउने भनेर गरिएको निर्णयको कार्यान्वयन खासै हुन सकिरहेको देखिँदैन । यसो हुनुको मुख्य कारण ढिलो निर्णय गर्नुको परिणाम भएको धरान १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । निर्णय त भयो धरानमा मात्रै सामान्य माइकिङ भयो तर टाढा टाढा सम्म सूचना पुगेन बिहानै सप्तरीको राजविराजबाट समेत भक्तजन आई पुगेको बताउँदै निर्णयको कार्यान्वयन गराउन सबै लाग्नुपर्ने बताए ।